काठमाण्डौ । आगामी जुन ११ देखि सुरु हुने फिफा विश्वकप २०२६ यस प्रतियोगिताको इतिहासमै सबैभन्दा ठूलो संस्करण हुने तयारीमा छ। संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने यस प्रतियोगितामा पहिलो पटक ४८ टोलीहरूले १०४ खेल खेल्नेछन्।
फ्रान्स, स्पेन, इङ्ग्ल्यान्ड र अर्जेन्टिना जस्ता परम्परागत शक्तिशाली टोलीहरू उपाधिका प्रमुख दाबेदार मानिएका छन्। स्टार खेलाडीहरु किलियन एमबाप्पे, लामिन यामाल, ह्यारी केन र लियोनेल मेस्सीको उपस्थितिबारे मडारिएको कालो बादल भन्दा पनि ठूला ठूला चुनौतीहरू यस प्रतियोगितामा देखिएका छन्।
अत्यधिक गर्मीको जोखिम
यस विश्वकपमा खेलाडीहरूको प्रमुख चिन्ता अत्यधिक गर्मी रहने देखिएको छ। विभिन्न जलवायु तथा खेलकुद विशेषज्ञहरूले उत्तर अमेरिका स्थित धेरै स्टेडियमहरूमा उच्च तापक्रमका कारण खेलाडीहरूको स्वास्थ्य र प्रदर्शनमा गम्भीर असर पर्न सक्ने चेतावनी दिएका छन्।
फिफाले प्रयोग गर्दै आएको वेट बल्ब ग्लोब टेम्प्रेचर(डब्लूबीजीटी) प्रणालीअनुसार निश्चित स्तरभन्दा माथि पुगेमा मात्र खेल रोक्ने वा स्थगित गर्ने निर्णय गरिन्छ। तर विज्ञहरूले यो सीमा पर्याप्त नभएको भन्दै धेरै खेलहरू उच्च जोखिम अवस्थामा हुन सक्ने बताएका छन्।
गर्मी, आर्द्रता र घामको संयुक्त प्रभावका कारण खेलाडीहरूको निर्णय क्षमता, शारीरिक प्रदर्शन र सहनशक्ति घट्न सक्ने जनाइएको छ ।
लामो दूरीको यात्रा र समय व्यवस्थापनको चुनौती
यस संस्करणमा खेलहरू १६ फरक शहरहरूमा फैलिएकाले टोलीहरूले करिब २ हजार ८०० माइलसम्म यात्रा गर्नुपर्ने हुन सक्छ। युरोपेली टोलीहरूका लागि यो अवस्था विशेष रूपमा कठिन मानिएको छ, किनकि उनीहरू सामान्यतया यति लामो घरेलु यात्रा गर्न अभ्यस्त हुँदैनन् ।
यात्रासँगै खेलाडीहरूको प्रशिक्षण, खानपान, र पुनःस्थापनाको तालिका पनि प्रभावित हुने विज्ञहरूको भनाइ छ।
निद्रा र टाइम जोनको प्रभाव
चार फरक समय क्षेत्रमा खेलहरू हुने भएकाले खेलाडीहरूको निद्रा चक्रमा ठूलो असर पर्न सक्ने जनाइएको छ। कतिपय खेलहरू स्थानीय समयअनुसार राति ढिलो हुँदा युरोपेली खेलाडीहरूका लागि बिहानको समयसँग मेल खाने अवस्था बन्न सक्छ।
यसलाई ध्यानमा राख्दै केही टोलीहरूले विशेष ‘स्लिप किट्स र व्यक्तिगत आराम व्यवस्थाहरू तयार गरेका छन्।

