काठमाण्डौ । काठमाडौंबाट जनकपुरतर्फ उडेको बुद्ध एयरको विमानमा उडानका क्रममा प्राविधिक समस्या देखिएपछि जहाजलाई पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फर्काएर सुरक्षित अवतरण गराइएको छ।
विमानस्थल स्रोतका अनुसार बिहान ७ः०५ बजे उडान भरेको उक्त विमानको ल्यान्डिङ गियर प्रणालीमा समस्या देखिएको संकेत प्राप्त भएपछि चालक दलले आवश्यक सतर्कता अपनाउँदै काठमाडौं फर्काउने निर्णय गरेको थियो।
जहाज सुरक्षित रूपमा अवतरण गरिएपछि विमानमा सवार सबै यात्रु सकुशल रहेको र घटनाबाट कुनै मानवीय वा भौतिक क्षति नभएको जनाइएको छ।
घटनापछि बुद्ध एयरको प्राविधिक टोलीले विमानको विस्तृत परीक्षण सुरु गरेको छ।
समस्याको वास्तविक कारण पत्ता लगाउन आवश्यक प्राविधिक जाँच तथा अनुसन्धान जारी रहेको विमानस्थल स्रोतले जनाएको छ।

