काठमाण्डौ । चिकित्सा शिक्षा आयोगले देशभरका विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूलाई आवासीय चिकित्सक (रेसिडेन्ट) लाई नियमविपरीत अत्यधिक कार्यभार नलगाउन निर्देशन दिएको छ।
आयोगले सोमबार जारी गरेको पत्रमा विभिन्न अस्पताल तथा मेडिकल कलेजहरूमा आवासीय चिकित्सकहरूलाई दिनरात निरन्तर काममा खटाइँदा उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा गम्भीर असर परेको गुनासो प्राप्त भएको उल्लेख गरिएको छ।
आयोगका उपाध्यक्ष प्रा. डा. श्रीकृष्ण गिरीद्वारा हस्ताक्षरित उक्त पत्रमार्फत आवासीय चिकित्सकलाई सम्बन्धित विषयको स्वीकृत पाठ्यक्रमअनुसार मात्र सेवा–प्रशिक्षणमा खटाउन सम्बन्धित सबै निकायलाई सचेत गराइएको छ।
साथै, पाठ्यक्रमले तोकेको कार्यभार कडाइका साथ कार्यान्वयन गरी सोको प्रगति विवरण यथाशीघ्र आयोगमा पेस गर्न समेत निर्देशन दिइएको छ।

