काठमाण्डौ । प्रतिनिधिसभा बैठक बुधबार श्रम संस्कृति पार्टीका सांसदहरूको विरोधका कारण केही समय तनावपूर्ण बनेको छ।
विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत छलफल चलिरहेका बेला सांसदहरूले वेल घेराउ गर्दै असन्तुष्टि जनाएका हुन्।
बैठकमा विभिन्न मन्त्रालयका बजेट शीर्षकहरूमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरूले क्रमशः दिइरहेका थिए।
सोही क्रममा श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई (हर्क साम्पाङ) ले मन्त्रीहरूको जवाफपछि थप स्पष्टीकरण लिन खोजेका थिए।
तर, सभामुख डोलप्रसाद अर्यालले संसदीय नियमावलीअनुसार प्रक्रिया अघि बढाउन आग्रह गर्दै उनलाई रोक लगाएपछि स्थिति असहज बनेको थियो।
सभामुखको उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै श्रम संस्कृति पार्टीका सांसदहरू आक्रोशित बने र सामूहिक रूपमा वेल घेराउ गर्दै विरोध प्रदर्शन गरे।
वेल घेराउका कारण केही समय बैठकको कार्यसूची प्रभावित भएको थियो। संसद्भित्रको वातावरण केहीबेर अनिश्चित बने पनि अन्य सांसदहरू भने छलफल प्रक्रियामा सहभागी भइरहेका थिए।
त्यसपछि सभामुख अर्यालले बैठकलाई पुनः नियमित बनाउन अपिल गर्दै संसद्को मर्यादा, अनुशासन र कार्यसञ्चालन नियम सबै सदस्यको साझा जिम्मेवारी भएको बताए।
उनले कुनै पनि परिस्थितिमा संसदीय प्रक्रिया अवरोध नगर्न र निर्धारित कार्यसूचीअनुसार अघि बढ्न सबै सांसदलाई सचेत गराएका थिए।
सभामुखको आग्रहपछि पनि केही समय तनाव कायम रहे पनि पछि बैठक क्रमशः सामान्य अवस्थामा फर्किएको संसद् सचिवालयले जनाएको छ।

