काठमाण्डौ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले जेठ महिनामा कर्जा असुली र बचत फिर्ता दुवैमा प्रगति गरेको छ।
समितिका अनुसार एक महिनाको अवधिमा १ करोड २० लाख रुपैयाँ ऋण असुली गर्दै ५९ लाख रुपैयाँ बचतकर्तालाई फिर्ता गरिएको छ।
समितिले जेठ महिनामा १० हजार रुपैयाँभन्दा कम बचत भएका ८ वटा सहकारीका १ हजार ४५२ जना साना बचतकर्ताको रकम फिर्ता गरेको जनाएको छ।
यस क्रममा ५९ लाख ४ हजार रुपैयाँ बचत फिर्ता गरिएको हो।
त्यसैगरी १२ वटा सहकारीका ऋणीबाट १ करोड २० लाख ४६ हजार रुपैयाँ ऋण असुली गरिएको तथा १२२ जनाको ५१ लाख ५१ हजार रुपैयाँ बचत मिलान गरिएको समितिले जनाएको छ।
समितिले बचत फिर्ता, ऋण असुली तथा सम्पत्ति व्यवस्थापन कार्यविधि २०८३ अनुसार काम अघि बढाइरहेको छ।
साथै सहकारी पुनर्संरचना तथा व्यवस्थापन कार्य पनि नयाँ कार्यविधिअनुसार सञ्चालन भइरहेको बताइएको छ।
हाल करिब ४४ हजार बचत दाबी निवेदन प्रमाणीकरणको चरणमा रहेको र साना बचतकर्ताको रकम फिर्ता प्रक्रिया क्रमशः अघि बढिरहेको समितिले जनाएको छ।
समस्याग्रस्त सहकारीका ऋणी पहिचान, सम्पत्ति रोक्का तथा तीनपुस्ते विवरण संकलन कार्यसमेत नियमित रूपमा भइरहेको छ।
साथै अपचलनमा संलग्न सञ्चालक तथा व्यवस्थापकहरूको सम्पत्ति खोजीका लागि विशेष टोली परिचालन गरिएको छ।

