आईतवार, श्रावण १०,२०८३ 06:39:51
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 06:39:51
Bizshala
Global IME Bank Limited

मौद्रिक नीतिका लागि सेयर लगानीकर्ता संघ नेपालद्वारा राष्ट्र बैंकलाई ५ बुँदे सुझाव पेश

मौद्रिक नीतिका लागि सेयर लगानीकर्ता संघ नेपालद्वारा राष्ट्र बैंकलाई ५ बुँदे सुझाव पेश
New Office

काठमाण्डौ । सेयर लगानीकर्ता संघ नेपालले आर्थिक वर्ष २०८३÷८४ को प्रथम त्रैमासिक मौद्रिक नीति समीक्षामा समावेश गर्नुपर्ने ५ बुँदे सुझाव नेपाल राष्ट्र बैंकलाई पेश गरेको छ।

संघले नेपाल राष्ट्र बैंकका गभर्नरसमक्ष बुझाएको सुझावपत्रमा नेपालको पूँजी बजारलाई थप गहिरो, तरल, प्रतिस्पर्धी तथा लगानीमैत्री बनाउने उद्देश्य राखिएको छ।

सुझावपत्रमा बैंक तथा वित्तीय संस्था, लघुवित्त, शेयर धितो कर्जा, गैरआवासीय नेपाली (एनआरएन) लगानी तथा संस्थागत कोष परिचालनसँग सम्बन्धित नीतिगत सुधारलाई प्राथमिकतामा राखिएको छ।

संघका अध्यक्ष तारा प्रसाद फुल्लेलद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएका प्रमुख ५ बुँदा यसप्रकार छन् ः

१. बैंक तथा वित्तीय संस्थालाई दोस्रो बजारमा लगानीसम्बन्धी थप स्वतन्त्रता प्रदान गर्ने
हाल बैंक तथा वित्तीय संस्थामाथि लागू भएका दोस्रो बजारमा लगानी सीमा, लक इन परियड तथा अन्य नियामकीय प्रतिबन्धहरूको पुनरावलोकन गरी बजारको अवस्थाअनुसार लचकता प्रदान गरिनुपर्छ। पर्याप्त पूँजी, तरलता तथा जोखिम व्यवस्थापन क्षमता भएका संस्थाहरूलाई विवेकपूर्ण रूपमा बजारमा लगानी गर्न प्रोत्साहन गरिएमा बजारमा संस्थागत सहभागिता बढ्ने, कारोबारको तरलता विस्तार हुने तथा मूल्य स्थायित्वमा सकारात्मक योगदान पुग्नेछ।

२. लघुवित्त संस्थाको लाभांश वितरण सम्बन्धी व्यवस्थामा सुधार
सबै लघुवित्त संस्थामा एउटै मापदण्ड लागू गर्नुको सट्टा वित्तीय स्वास्थ्य, पूँजी पर्याप्तता, निष्क्रिय कर्जा, नाफा तथा सुशासनको अवस्थाका आधारमा लाभांश वितरणमा लचक नीति अवलम्बन गरियोस। वित्तीय रूपमा सबल र नियामकीय सूचक पूरा गरेका संस्थालाई उचित लाभांश वितरणको अवसर दिँदा लगानीकर्ताको विश्वास बढ्नुका साथै यस क्षेत्रमा थप लगानी आकर्षित हुनेछ।

३.सेयर धितो कर्जा व्यवस्थालाई जोखिममा आधारित बनाउने
हालको एकरूप कर्जा व्यवस्थालाई परिमार्जन गरी रिस्क बेस्ड मार्जिन लेन्डिङ प्रणाली लागू गरिनुपर्छ। कम्पनीको वित्तीय अवस्था, बजार पूँजीकरण, कारोबारको तरलता तथा जोखिम स्तरका आधारमा लोन टु भ्यालु रेसियो निर्धारण गर्ने व्यवस्था प्रभावकारी हुनेछ। यसबाट गुणस्तरीय कम्पनीमा लगानी प्रवर्द्धन हुने, अनावश्यक जोखिम नियन्त्रण हुने तथा वित्तीय प्रणाली थप सुदृढ बन्नेछ।

४. गैरआवासीय नेपाली (एनआरएन) लाई लगानी प्रवेश तथा बाहिरिने प्रक्रिया सहज बनाउने  गैरआवासीय नेपालीहरूलाई नेपालको पूँजी बजारमा सहज रूपमा लगानी गर्ने तथा आवश्यक पर्दा आफ्नो लगानी र प्राप्त नाफा वैधानिक रिपाट्रेशन मेकानिजम मार्फत विदेश लैजान सक्ने स्पष्ट, सरल र विश्वसनीय व्यवस्था गरियोस। यसले वैदेशिक मुद्रा भित्र्याउन, विदेशी लगानी बढाउन तथा नेपालको पूँजी बजारलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ।

५. संस्थागत कोषहरूको सक्रिय परिचालनका लागि नीतिगत सहजीकरण
कर्मचारी सञ्चय कोष , नागरिक लगानी कोष , सामाजिक सुरक्षा कोष तथा बीमा कम्पनीहरूका दीर्घकालीन कोषलाई जोखिम व्यवस्थापनका स्पष्ट मापदण्डसहित पूँजी बजारमा थप सक्रिय रूपमा परिचालन गर्न आवश्यक नीतिगत व्यवस्था गरियोस। यस्ता संस्थागत लगानीकर्ताको सहभागिताले बजारमा दीर्घकालीन स्थायित्व, पर्याप्त तरलता तथा स्वस्थ लगानी संस्कृतिको विकास हुनेछ।


नेपालको पूँजी बजारलाई आर्थिक विकासको प्रभावकारी आधारका रूपमा स्थापित गर्न मौद्रिक नीतिले बजारमैत्री, जोखिममा आधारित तथा आधुनिक नियामकीय दृष्टिकोण अवलम्बन गर्नु आवश्यक रहेको संघले जनाएको छ। उल्लेखित सुझावहरू कार्यान्वयन भएमा बजारको गहिराइ, लगानीकर्ताको विश्वास, संस्थागत सहभागिता तथा समग्र वित्तीय प्रणालीको स्थायित्वमा सकारात्मक प्रभाव पर्ने विश्वास सेयर लगानिकर्ता संघ नेपालले लिएको छ। 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.