काठमाण्डौ । कोशी प्रदेशमै ‘तरकारीको राजधानी’ भनेर चिनिने धनकुटाको छथर जोरपाटी गाउँपालिकाका किसान यतिबेला ठूलो पीडामा छन्। महिनौँको मेहनत, लगानी र आशासहित उत्पादन गरिएको मूला उचित मूल्य नपाउँदा बारीमै कुहिन थालेको छ।
छथर जोरपाटीका जोरपाटी, सिधुवा, मजुवा, चुलाचुली, सल्ले, चप्परीचोक, फुत्रुङडाँडा, गुराँसे, बोक्रे र रोटेआहाल लगायतका क्षेत्र व्यावसायिक तरकारी उत्पादनका लागि चर्चित छन्। यहाँ मूला किसानको प्रमुख नगदेबालीमध्ये एक हो। तर, यस वर्ष उत्पादन अत्यधिक हुँदा र बजार व्यवस्थापन कमजोर हुँदा किसानले लगाएको मूला बिक्री हुन सकेको छैन।
किसानका अनुसार अहिले प्रतिकिलो ५ देखि ६ रुपैयाँमा पनि मूला बिक्री हुन मुस्किल छ। यही मूल्यमा बिक्री गर्दा मल, बीउ, विषादी, सिँचाइ, मजदुरी, ढुवानी र जग्गा तयारीको लागत समेत नउठ्ने अवस्था आएको उनीहरूको गुनासो छ।
गुराँसेका व्यावसायिक किसान इन्द्र सारु मगरका अनुसार प्रतिकिलो ५ रुपैयाँमा मूला बेच्नु भनेको घाटामाथि अर्को घाटा थप्नु हो। उनले भने, “पाँच रुपैयाँ किलोमा बेच्दा उखेलेर बजार पठाउन खेतालालाई दिने ज्याला पनि उठ्दैन। त्यसैले थप घाटा सहनुभन्दा बारीमै कुहिन दिन बाध्य भएका छौँ।”
सुरुमा प्रतिकिलो २० रुपैयाँसम्म बिक्री भएको मूला एकैपटक ठूलो परिमाणमा बजारमा पुगेपछि मूल्य तीव्र रूपमा घटेको किसानहरू बताउँछन्। बजारमा माग कम र उत्पादन धेरै हुँदा किसान निराश बनेका छन्।
बारीमा पसिना बगाएर उत्पादन गरेको बाली आफ्नै आँखाअगाडि नष्ट गर्नु कुनै पनि किसानका लागि सजिलो निर्णय होइन। तर, छथर जोरपाटीका किसान अहिले यही पीडादायी अवस्थाबाट गुज्रिरहेका छन्। कतै गोरुले जोतेर मूला माटोमा मिसाइँदैछ, कतै यान्त्रिक हलोले उत्पादन पल्टाइँदैछ। कतिपय किसानले नयाँ बाली लगाउन बारी खाली गर्न मूला कुहाउने विषादी छर्केर नष्ट गरिरहेका छन्।
बारीभरि कुहिएको मूलाबाट दुर्गन्ध फैलिन थालेको छ। किसानका लागि यो उत्पादनको घाटा मात्र होइन, महिनौँको श्रम, लगानी र आशा माटोमा मिलेको पीडा हो।
छथर जोरपाटी गाउँपालिकाका करिब तीन हजार किसान परिवार प्रत्यक्ष रूपमा प्रभावित भएको गाउँपालिकाले जनाएको छ। गाउँपालिका अध्यक्ष छत्रबहादुर सुब्बा स्वयं पनि व्यावसायिक किसान हुन्। उनले आफ्नै करिब २० रोपनीमा लगाएको मूला समेत बारीमै नष्ट गर्नुपरेको बताए।
अध्यक्ष सुब्बाका अनुसार ५ रुपैयाँ प्रतिकिलोमा बिक्री गर्दा पनि लागत नउठ्ने भएपछि धेरै किसानले उत्पादन नष्ट गर्नुको विकल्प देखेका छैनन्। उनले यस समस्याबाट किसानले दुई करोड रुपैयाँभन्दा बढी आर्थिक क्षति बेहोर्नुपरेको दाबी गरे।
“स्थानीय सरकारले बजार नियन्त्रण गर्न सक्दैन। हामीले उत्पादन बढाउन किसानलाई प्रोत्साहन गरेका छौँ,” अध्यक्ष सुब्बाले भने, “तर उत्पादन बिक्री हुने सुनिश्चितता गर्ने जिम्मेवारी संघ र प्रदेश सरकारको पनि हो।”
रोचक तर पीडादायी कुरा के छ भने छथर जोरपाटीमा प्रतिकिलो ५–६ रुपैयाँमा पनि नबिकेको मूला धनकुटा सदरमुकाममा भने प्रतिकिलो ३० देखि ३५ रुपैयाँसम्म बिक्री भइरहेको छ। किसानले पाउने मूल्य र उपभोक्ताले तिर्ने मूल्यबीचको ठूलो अन्तरले बिचौलिया र असंगठित बजार प्रणालीले किसानको पीडालाई अझ गहिरो बनाएको देखिन्छ।
छथर जोरपाटी मूला मात्र नभई आलु, बन्दाकोपी, काउली, भेडेखुर्सानी, स्कुस र मटरकोसा उत्पादनका लागि समेत परिचित क्षेत्र हो। वर्षेनि उत्पादन बढ्दै गए पनि बजार व्यवस्थापन, संकलन केन्द्र, शीतभण्डार र प्रशोधन उद्योगको अभावले किसान बारम्बार संकटमा पर्ने गरेका छन्।
स्थानीयका अनुसार भारततर्फ निर्यातमा अवरोध आउँदा स्थानीय बजारमा आपूर्ति अत्यधिक हुन्छ। पर्याप्त भण्डारण सुविधा नहुँदा किसानले उत्पादन लामो समय सुरक्षित राख्न सक्दैनन्। त्यसपछि उनीहरू बाध्य भएर अत्यन्तै कम मूल्यमा बिक्री गर्न वा उत्पादन नष्ट गर्न विवश हुन्छन्।
किसानहरूले कृषि उपजको न्यूनतम समर्थन मूल्य तोक्न, शीतभण्डार निर्माण गर्न, स्थानीय संकलन केन्द्र स्थापना गर्न, ढुवानीमा अनुदान दिन, प्रशोधन उद्योग सञ्चालन गर्न र प्रभावकारी बजार व्यवस्थापन गर्न सरकारसँग माग गरेका छन्।
उनीहरूको भनाइ छ—सरकारले उत्पादन बढाउन मात्र होइन, उत्पादन बिक्री हुने सुनिश्चितता पनि गर्नुपर्छ। बजार नपाउने हो भने किसानलाई उत्पादन बढाऊ भन्नु मात्र पर्याप्त हुँदैन।

