काठमाण्डौ । शौर्य सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत सिरहाका विभिन्न विद्यालयमा अध्ययनरत ४०० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
कम्पनीले कर्जन्हा र मिर्चैया नगरपालिकाअन्तर्गतका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराएको हो । स्थानीय समुदायको शैक्षिक विकासमा सहयोग पुर्याउने र विद्यार्थीको अध्ययनलाई सहज बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।
कार्यक्रमबाट श्री आधारभूत विद्यालय प्रयागपुर, श्री जनता आधारभूत विद्यालय मरेवा, श्री शारदा माध्यमिक विद्यालय रामपुर बिरता, श्री जनजागृति आधारभूत विद्यालय मनथै कुट्टी, श्री जनता आधारभूत विद्यालय महादेवा, श्री जनता आधारभूत विद्यालय मतेर्वा, श्री जनता आधारभूत विद्यालय छघरे, जनचेतना आधारभूत विद्यालय मलहनिया खोरी र श्री बाबुजी राय जुनाई ठाकुर माध्यमिक विद्यालयका विद्यार्थी लाभान्वित भएका छन् ।
शैक्षिक सामग्रीसँगै विद्यालयहरूको आवश्यकतालाई ध्यानमा राख्दै पानी फिल्टर र पानी राख्ने जगसमेत उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
सामग्री वितरणका क्रममा शौर्य सिमेन्टका प्रतिनिधिले सम्बन्धित नगरपालिकाका नगर प्रमुख, वडा अध्यक्ष, विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि तथा विद्यार्थीसँग अन्तरक्रिया गरेका थिए ।
सो क्रममा स्थानीय शैक्षिक आवश्यकता, विद्यालयका प्राथमिकता र आगामी दिनमा आवश्यक सहयोगका विषयमा समेत जानकारी लिइएको थियो ।
शौर्य सिमेन्टले शिक्षालाई समुदायको दीर्घकालीन विकासको महत्वपूर्ण आधारका रूपमा लिँदै आफ्नो कार्यक्षेत्र तथा आसपासका क्षेत्रमा शैक्षिक र सामाजिक गतिविधिमा सहयोग गर्दै आएको जनाएको छ ।
कम्पनीका अनुसार यो कार्यक्रम सामुदायिक सहभागिता तथा सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सञ्चालन गरिएको हो ।
आगामी दिनमा पनि स्थानीय समुदायका आवश्यकता र प्राथमिकतालाई ध्यानमा राख्दै शिक्षा तथा अन्य सामाजिक क्षेत्रमा सहयोगलाई निरन्तरता दिने शौर्य सिमेन्टले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।