काठमाण्डौ। । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायात क्षेत्रमा नियमविपरीतका गतिविधि नगर्न यातायात व्यवसायीलाई सचेत गराएको छ।
महासंघका महासचिव डेकनाथ गौतमद्वारा जारी सूचनामा काठमाडौं उपत्यकासहित देशभर सार्वजनिक यातायात सञ्चालन गर्दा प्रचलित नियमको कडाइका साथ पालना गर्न आग्रह गरिएको छ।
महासंघका अनुसार यात्रुलाई गन्तव्यसम्म नपुर्याउने, बढी भाडा लिने, सिट क्षमताभन्दा बढी यात्रु राख्ने, यात्रुमैत्री व्यवहार नगर्ने, बस पकेटबाहिर जथाभावी यात्रु चढाउने/ओराल्ने, यात्रु तानातान गर्ने तथा सिट सरसफाइ नगर्नेजस्ता गुनासो बढेका छन्।
त्यस्तै, सवारीमा डस्टबिनको व्यवस्था नगर्ने, तीव्र गतिमा सवारी चलाउने, ट्राफिक नियम पालना नगर्ने र सवारीसाधनसँग सम्बन्धित कागजात दुरुस्त नराख्नेजस्ता गतिविधिबारे पनि महासंघले ध्यानाकर्षण गराएको छ।
यस्ता गतिविधिले सार्वजनिक यातायात क्षेत्रलाई आम सरोकारवालाबीच अपहेलित र अमर्यादित पेशाका रूपमा प्रस्तुत गरिरहेको महासंघको ठहर छ।
महासंघले खर्बौं लगानी रहेको र राज्यलाई अर्बौं रुपैयाँ राजस्व बुझाउँदै आएको यातायात पेशा मर्यादित, लगानीमैत्री र यात्रुमैत्री हुनुपर्ने जनाएको छ। यातायात क्षेत्रलाई बदनाम गराउने गतिविधि कतै भइरहेको भए तत्काल सुधार गर्न र आधुनिक प्रविधिमैत्री सेवा सञ्चालन गर्न पनि महासंघले आग्रह गरेको छ।
सुधार नगरे सम्बन्धित निकायबाट सवारीसाधन, व्यवसायी तथा मजदूरमाथि कारबाही हुन सक्ने महासंघले चेतावनीसमेत दिएको छ।

