काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीको नाफा वितरणमा नयाँ मापदण्ड लागू गरेको छ । प्राधिकरणले नेपाल वित्तीय प्रतिवेदन मान (NFRS 17) कार्यान्वयन सम्बन्धी निर्देशिका, २०८३ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
निर्देशिकाअनुसार बीमकले अब त्रैमासिक तथा वार्षिक वित्तीय विवरण दुई फरक ढाँचामा तयार गरी पेश गर्नुपर्नेछ। व्यवस्थाअनुसार बीमा कम्पनीले वितरणयोग्य नाफा निर्धारण गर्दा बीमा प्राधिकरणको वित्तीय विवरण निर्देशिका, २०८० अनुसारको वितरणयोग्य नाफा र NFRS 17 अनुसारको वितरणयोग्य नाफामध्ये जुन कम हुन्छ, सोही रकमलाई वितरणयोग्य नाफा मानिने व्यवस्था गरेको छ ।
त्यस्तै, निर्देशिकाले त्रैमासिक वित्तीय विवरणसमेत दुई प्रकारले तयार गर्नुपर्ने व्यवस्था गरेको छ। एउटा NFRS 17 अनुरूप र अर्को नेपाल बीमा प्राधिकरणले जारी गरेको त्रैमासिक वित्तीय विवरण सम्बन्धी परिपत्रअनुसार तयार गर्नुपर्नेछ।
२०८३ साउन १ गतेदेखि बीमा कम्पनीहरूले लेखापरीक्षण सम्पन्न दुई प्रकारका वार्षिक वित्तीय विवरण पेश गर्नुपर्नेछ। यसअन्तर्गत NFRS 17 मा आधारित सामान्य प्रयोजनको वित्तीय विवरण र प्राधिकरणको वित्तीय विवरण निर्देशिका, २०८० अनुसारको विशेष प्रयोजनको वित्तीय विवरण नियामकीय स्वीकृतिका लागि अनिवार्य रूपमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
प्राधिकरणले सहभागी बीमालेखका बीमितलाई प्रदान गरिने बोनस रेट निर्धारणका लागि जोखिममा आधारित पूँजी तथा सोल्भेन्सी निर्देशिका, २०८२ लागू हुने जनाएको छ।
त्यसैगरी, बीमा ऐन तथा नियामकीय व्यवस्थाअनुसार कायम गर्नुपर्ने विभिन्न जगेडा कोषको गणना वित्तीय विवरण निर्देशिका, २०८० बमोजिम हुनेछ। यदि NFRS 17 अनुसारको सञ्चित नाफा निर्देशिका, २०८० अनुसारको सञ्चित नाफाभन्दा बढी भएमा, सो अतिरिक्त रकम नियामकीय जगेडामा स्थानान्तरण गरी छुट्टै राख्नुपर्नेछ।
यद्यपि, आगामी वर्षहरूमा NFRS 17 अनुसारको सञ्चित नाफा निर्देशिका, २०८० अनुसारको सञ्चित नाफाभन्दा कम भएमा उपलब्ध सीमासम्म नियामकीय जगेडाबाट उक्त रकम फिर्ता गर्न सकिने व्यवस्था गरिएको छ।
प्राधिकरणले यस्तो नियामकीय जगेडा आफ्नो निर्णय वा स्वीकृतिबिना लाभांश वितरण वा अन्य कुनै प्रयोजनमा प्रयोग गर्न नपाइने स्पष्ट गरेको छ।

