काठमाण्डौ । नागरिक लगानी कोषको कार्यकारी निर्देशक नियुक्तिका लागि पाँच जना उम्मेदवार सर्टलिस्ट भएका छन् ।
अर्थ मन्त्रालयअन्तर्गत गठित नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले शैक्षिक योग्यता, कार्यानुभव तथा व्यावसायिक एवं वित्तीय कार्ययोजनाको मूल्याङ्कनका आधारमा पाँच जना उम्मेदवारलाई प्रस्तुतिकरण तथा अन्तर्वार्ताका लागि छनोट गरेको हो ।
छनोट भएका उम्मेदवारहरुमा अर्जुनकुमार गौतम, गोपाल घिमिरे, पर्वतकुमार कार्की, यज्ञप्रकाश न्यौपाने र समता पन्त भट्ट रहेका छन् ।
समितिले सार्वजनिक गरेको सूचनाअनुसार उम्मेदवारहरूको व्यावसायिक कार्ययोजनाको प्रस्तुतिकरण र अन्तर्वार्ता साउन २५ र २६ गते अर्थ मन्त्रालय, सिंहदरबारमा सञ्चालन हुनेछ ।
कार्यतालिकाअनुसार अर्जुनकुमार गौतमको प्रस्तुतिकरण साउन २५ गते बिहान ७ बजे र अन्तर्वार्ता बिहान ८ बजे हुनेछ । पर्वतकुमार कार्कीको प्रस्तुतिकरण सोही दिन साँझ ५ बजे तथा अन्तर्वार्ता साँझ ६ बजे हुनेछ ।
त्यस्तै, गोपाल घिमिरे, यज्ञप्रकाश न्यौपाने र समता पन्त भट्टको प्रस्तुतिकरण तथा अन्तर्वार्ताको कार्यक्रम साउन २६ गते बिहान ८ बजेदेखि सञ्चालन हुने अर्थ मन्त्रालयले जनाएको छ ।
यसअघि रिक्त रहेको कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धाबाट पदपूर्तिका लागि आवेदन माग गरिएको थियो । अब प्रस्तुतिकरण र अन्तर्वार्तापछि छनोट तथा सिफारिस समितिले योग्य उम्मेदवारको नाम सरकारसमक्ष सिफारिस गर्ने प्रक्रिया अघि बढाउनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।