काठमाडौं । स्वास्थ्य बीमा बोर्डले गत आर्थिक वर्ष २०८२/८३ मा स्वास्थ्य सेवा प्रदायक संस्था (अस्पताल)हरुलाई २९ अर्ब ८६ करोड रुपैयाँभन्दा बढी भुक्तानी गरेको छ ।
बोर्डले सार्वजनिक गरेको प्रतिवेदनअनुसार स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध स्वास्थ्य सेवा प्रदायक संस्थालाई गत आर्थिक वर्षमा कुल २९ अर्ब ८६ करोड २७ लाख रुपैयाँ भुक्तानी गरिएको हो । कुल भुक्तानीमध्ये सरकारी अस्पतालले १७ अर्ब ६६ करोड ९६ लाख रुपैयाँ प्राप्त गरेका छन् ।
त्यस्तै, सामुदायिक अस्पताललाई १ अर्ब ६८ करोड ३७ लाख रुपैयाँ र निजी अस्पताललाई ६ अर्ब १३ करोड ५४ लाख रुपैयाँ भुक्तानी गरिएको बोर्डले जनाएको छ ।
गत आर्थिक वर्षमा बोर्डले स्वास्थ्य सेवा प्रदायक संस्थाको ४ अर्ब ३७ करोड ३९ लाख रुपैयाँ बराबरको पेश्कीसमेत फर्छ्यौट गरेको छ ।
बोर्डका अनुसार गत आर्थिक वर्षमा विभिन्न स्रोतबाट कुल ३६ अर्ब ७५ करोड ५६ लाख रुपैयाँ आम्दानी भएको छ । यसमध्ये अघिल्लो आर्थिक वर्षबाट १ अर्ब ६८ करोड ८९ लाख रुपैयाँ प्राप्त भएको थियो ।
त्यस्तै, नेपाल सरकारबाट बीमा योगदानबापत बोर्डले २१ अर्ब १९ करोड ३१ लाख रुपैयाँ प्राप्त गरेको छ । विभिन्न नागरिक औषधि उपचार कार्यक्रमका लागि सरकारले ५ अर्ब १९ करोड ९९ लाख रुपैयाँ उपलब्ध गराएको छ ।
बोर्डका अनुसार गत आर्थिक वर्षको अन्त्यसम्म स्वास्थ्य बीमा कार्यक्रममा १ करोड ७ लाख ६५ हजार ७८६ जना आबद्ध भएका छन् । यो नेपालको कुल जनसंख्याको करिब ३६ प्रतिशत हो ।
यद्यपि, क्रियाशील बीमितको संख्या भने ५६ लाख ८७ हजार ५५२ रहेको छ । यो कुल जनसंख्याको करिब १९ प्रतिशत हो ।
गत आर्थिक वर्षमा ४१ लाख ९३ हजार १४३ जनाले स्वास्थ्य बीमा नवीकरण गरेका छन् । सोही अवधिमा ३१ लाख ३५ हजार ८०० जना बीमितले स्वास्थ्य बीमा सेवाको उपभोग गरेको बोर्डको प्रतिवेदनमा उल्लेख छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।