सोमबार, श्रावण २५,२०८३ 06:40:12
Bizshala
  • सोमबार, श्रावण २५,२०८३ 06:40:12
Bizshala
Global IME Bank Limited

सरकारलाई नाइमाको प्रश्न-'अर्थतन्त्र दौडाउने गाडी कसरी विलासिता भयो ?'

राजकुमार दुलाल भन्छन्-‘नाइमा र नाडा जुध्दैनन्, अटो क्षेत्रका लागि सँगै लड्छन्’

Prabhu Bank Limited
सरकारलाई नाइमाको प्रश्न-'अर्थतन्त्र दौडाउने गाडी कसरी विलासिता भयो ?'
New Office

–रविन ठकुरी

 

काठमाण्डौ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा)ले साउन २६ देखि ३१ गतेसम्म काठमाण्डौको भृकुटीमण्डपमा ‘नेपाल मोबिलिटी एक्स्पो–२०२६’ आयोजना गर्दैछ।

नेपालका प्रमुख सवारीसाधन आयातकर्ता तथा उत्पादकहरू आबद्ध नाइमाले एक्स्पोलाई सवारीसाधनको किनबेचमा मात्र सीमित नगरी प्रदर्शनी, प्रविधि, वित्तीय पहुँच, सडक सुरक्षा र उपभोक्ता सचेतनाको साझा मञ्च बनाउने तयारी गरेको छ।

नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालका अनुसार एक्स्पोमा ५३ वटा स्टलमार्फत ५६ भन्दा बढी ब्रान्ड सहभागी हुनेछन्। दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधनसँगै यात्रुवाहक, व्यावसायिक, विद्युतीय र पेट्रोलियम सवारीसाधनका विभिन्न विकल्प प्रदर्शनीमा राखिनेछन्।

अटोमोबाइल क्षेत्रमा नाडाको उपस्थिति हुँदाहुँदै नाइमा गठन भएपछि दुई संस्थाबीच प्रतिस्पर्धा बढेको टिप्पणीसमेत हुँदै आएको छ। तर दुलाल नाइमा र नाडालाई प्रतिस्पर्धी मान्न तयार छैनन्। दुवै संस्था फरक विशेषतासहित स्थापित भएको र मोबिलिटी क्षेत्रका साझा समस्या समाधान गर्न समझदारीअनुसार सहकार्य गरिरहेको उनको भनाइ छ।

दुलालले सवारीसाधनलाई विलासिताको वस्तुका रूपमा मात्र हेर्ने सरकारी दृष्टिकोणमा समेत पुनर्विचार आवश्यक रहेको बताएका छन्। नागरिकको गतिशीलता, रोजगारी, व्यापार, उत्पादन र समग्र आर्थिक गतिविधिसँग सवारीसाधन प्रत्यक्ष जोडिने भएकाले यसलाई अर्थतन्त्रको आधारभूत आवश्यकताका रूपमा बुझ्नुपर्ने उनको धारणा छ।

एक्स्पोको तयारी, नाइमा र नाडाबीचको सम्बन्ध, सवारी कर्जा, डाउनपेमेन्ट, विद्युतीय सवारीसाधनको विस्तार तथा अटोमोबाइल क्षेत्रका चुनौतीबारे नाइमाका कार्यकारी निर्देशक दुलालसँग बिजशाला संवाददाता रविन ठकुरीले गरेको कुराकानीको सम्पादित अंश:

नाइमा मोबिलिटी एक्स्पोको तयारी कहाँ पुग्यो ?

एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ। अधिकांश स्टल निर्माणको काम सम्पन्न भइसकेको छ। सिकाइ सत्रमा सहभागी हुने प्यानलिस्ट र सहजकर्ताको टुंगो लगाउने काम भइरहेको छ। निर्धारित समयमै व्यवस्थित रूपमा एक्स्पो सञ्चालन गर्ने गरी तयारी तीव्र बनाएका छौं।

Naima Expo 2026

यो नाइमा एक्स्पोको दोस्रो संस्करण हो। अघिल्लो वर्षको तुलनामा यसपटक के फरक हुनेछ ?

यस वर्ष एक्स्पोको आकार र सहभागिता दुवै बढेको छ। अघिल्लो संस्करणमा करिब ४७ वटा स्टल थिए। यसपटक ५३ वटा स्टल रहनेछन् र ५६ भन्दा बढी ब्रान्डले सहभागिता जनाउनेछन्।

दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधनसँगै व्यावसायिक सवारी, यात्रुवाहक सवारी, कार, मोटरसाइकल र स्कुटरका विभिन्न ब्रान्ड एक्स्पोमा सहभागी हुनेछन्। त्यसैले अघिल्लो संस्करणभन्दा यसपटकको एक्स्पो थप बृहत् र विविधतापूर्ण हुनेछ।

एक्स्पोमा आउने अवलोकनकर्ताको पार्किङ कसरी व्यवस्थापन गर्नुहुन्छ ?

पार्किङ र शौचालय व्यवस्थापनका लागि एक्स्पो अवधिभर नेपाल प्रहरीको ब्लु प्याभिलियन प्रयोग गर्ने व्यवस्था मिलाएका छौं। अवलोकनकर्तालाई आउजाउमा सहज बनाउन राइड सेयरिङ कम्पनी पठाओमार्फत गन्तव्यसम्मको यात्रामा छुट दिने व्यवस्था पनि मिलाइएको छ।

एक्स्पोका सबै ६ दिन विभिन्न सिकाइ तथा सचेतनामूलक सत्रसमेत सञ्चालन हुनेछन्।

वर्षाका कारण एक्स्पो प्रभावित हुने सम्भावना कति छ ?

वर्षाले एक्स्पोमा ठूलो असर पार्दैन। प्रदर्शनी स्थललाई वर्षा प्रतिरोधी बनाइएको छ। पानी परिरहेको समयमा पनि अवलोकनकर्ताले सुरक्षित र सहज रूपमा एक्स्पो भ्रमण गर्न सक्नेछन्।

नाडाले अटोमोबाइल क्षेत्रलाई समेटिरहेको अवस्थामा नाइमा किन आवश्यक पर्‍यो ?

नाइमा र नाडा आ–आफ्नै विशेषता भएका दुई संस्था हुन्। नाइमा मूलतः नेपालका प्रमुख सवारीसाधन आयातकर्ता र उत्पादकहरूको संस्था हो। २० सदस्यबाट सुरु भएको नाइमामा अहिले ३६ सदस्य पुगेका छन्।

नाइमा र नाडा एकअर्काका प्रतिस्पर्धी नभई पूरक संस्था हुन्। नेपालको मोबिलिटी क्षेत्रमा रहेका साझा चुनौती र एजेन्डामा दुवै संस्था मिलेर काम गर्छन्। यसका लागि दुई संस्थाबीच औपचारिक समझदारीसमेत भएको छ।

समझदारीअनुसार एकअर्कालाई सहयोग गर्ने र मोबिलिटी क्षेत्रको विकासका लागि संयुक्त रूपमा काम गर्ने निर्णय गरेका छौं।

नाडा अटो शो र नाइमा एक्स्पोमा मुख्य फरक के हो ?

नाइमा एक्स्पो विशिष्ट प्रकृतिको प्रदर्शनी हो। यहाँ गुणस्तरीय ग्राहक आएर सवारीसाधनबारे बुझ्ने, विभिन्न विकल्प तुलना गर्ने र विज्ञबाट सिक्ने वातावरण पाउँछन्।

यो विशुद्ध सवारीसाधन प्रदर्शनी मात्र नभई सिकाइको केन्द्रसमेत हो। एक्स्पोका सबै ६ दिन ट्राफिक प्रहरीले सडक सुरक्षा तथा ट्राफिक सचेतनाका कार्यक्रम सञ्चालन गर्नेछ। ग्रान्डी अस्पतालले स्वास्थ्य तथा आपत्कालीन अवस्थासम्बन्धी तालिम दिनेछ।

त्यसैले नाइमा एक्स्पोलाई हामीले प्रदर्शनी, सचेतना र सिकाइको साझा केन्द्र बनाएका छौं।

राष्ट्र बैंकले सवारी कर्जाको ‘लोन टु भ्यालु’ अनुपात परिवर्तन गरेपछि डाउनपेमेन्ट बढेको छ। यसमा नाइमाको धारणा के हो ?

केही समयअघिसम्म विद्युतीय सवारीसाधन खरिद गर्दा ३० प्रतिशत डाउनपेमेन्ट गरेर ७० प्रतिशतसम्म कर्जा लिन सकिने व्यवस्था थियो। अहिले सबै प्रकारका सवारीसाधनमा बैंकबाट अधिकतम ६० प्रतिशतसम्म कर्जा पाइने र ग्राहकले ४० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने अवस्था छ। पछिल्लो नीतिले ठूला व्यावसायिक सवारीसाधनमा भने केही सहुलियत दिएको छ।

नाइमाको माग थोरै डाउनपेमेन्टमा सवारीसाधन खरिद गर्न सकिने व्यवस्था हुनुपर्छ भन्ने हो। डाउनपेमेन्ट कम हुँदा धेरै नागरिकको सवारीसाधनमा पहुँच पुग्छ। पहुँच विस्तार हुँदा मानिस र वस्तुको गतिशीलता बढ्छ, आर्थिक गतिविधि चलायमान हुन्छ र समग्र अर्थतन्त्रलाई टेवा पुग्छ।

यही मान्यताका आधारमा नाइमाले सरकार र नेपाल राष्ट्र बैंकसमक्ष आफ्ना सुझाव तथा माग राख्दै आएको छ।

नाइमा एक्स्पो विद्युतीय सवारीसाधनको प्रवर्द्धनमा मात्र केन्द्रित हो ?

नाइमाका ३६ सदस्यसँग विभिन्न श्रेणी र प्रविधिका सवारीसाधन ब्रान्ड छन्। संस्थाले कुनै एउटा निश्चित श्रेणीको सवारीसाधनलाई मात्र प्रवर्द्धन गर्दैन।

आयातकर्ता तथा उत्पादकले ल्याएका उत्पादनलाई प्रदर्शनी गर्ने, त्यसको प्रविधि र विशेषताबारे जानकारी दिने तथा व्यावसायिक अवसर सिर्जना गर्ने मञ्च उपलब्ध गराउनु हाम्रो प्राथमिकता हो। एक्स्पोमा विद्युतीय र पेट्रोलियम दुवै प्रकारका सवारीसाधनले समान रूपमा स्थान पाउनेछन्।

इन्धनको मूल्य बढेसँगै उपभोक्ता विद्युतीय सवारीसाधनतर्फ आकर्षित भइरहेका छन्। नाइमाले यसलाई कसरी हेरेको छ ?

ग्राहक नै निर्णायक हुन्। ग्राहकले आफ्नो आवश्यकता, प्रयोग, बजेट र उपलब्ध पूर्वाधारका आधारमा उपयुक्त सवारीसाधन छनोट गर्छन्।

कुन प्रविधि वा कुन प्रकारको सवारीसाधन उपयुक्त हुन्छ भन्ने बुझ्न सहज होस् भनेर एक्स्पोमा सिकाइ सत्र राखेका छौं। बजारमा जति धेरै विकल्प उपलब्ध हुन्छन्, ग्राहकले आफ्नो आवश्यकता र क्षमताअनुसार त्यति नै उपयुक्त सवारीसाधन छनोट गर्न सक्छन्। एक्स्पोमा हामीले सम्भव भएसम्म सबै विकल्प प्रस्तुत गर्न खोजेका छौं।

अर्थमन्त्रीले ५० लाख रुपैयाँभन्दा कम मूल्यका गाडीलाई आवश्यकता र त्यसभन्दा महँगा गाडीलाई विलासिताका रूपमा व्याख्या गर्नुभएको छ। नाइमाको धारणा के हो ?

हाम्रो स्पष्ट धारणा छ– सवारीसाधन विलासिता होइन, आवश्यकता हो। यो अर्थतन्त्रको महत्वपूर्ण आधारसमेत हो।

सवारीसाधनले व्यक्तिलाई एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याउने काम मात्र गर्दैन। यसले उत्पादन, ढुवानी, व्यापार, पर्यटन, रोजगारी र समग्र आर्थिक गतिविधिलाई गति दिन्छ। नाइमाले यो विषयलाई गम्भीरतापूर्वक लिएको छ र सवारीसाधन अर्थतन्त्रको आधारभूत आवश्यकता हो भन्ने मान्यता स्थापित गर्ने प्रयास गरिरहेको छ।

सवारीसाधनमा हायर पर्चेज कर्जाको अवस्था केही सकारात्मक देखिएको छ। नाइमाले यसलाई कसरी उपयोग गर्छ ?

एक्स्पोमा बैंकिङ साझेदार र हायर पर्चेज कम्पनीको समेत सहभागिता रहनेछ। नाइमाले अटोमोबाइल उद्योगलाई बैंकिङ, बीमा र वित्तीय क्षेत्रसँग जोड्ने काम गर्छ।

ग्राहकले सहुलियतपूर्ण ब्याजदरमा सरल प्रक्रिया पूरा गरेर सहज रूपमा कर्जा पाउनुपर्छ भन्ने पक्षमा हामी पैरवी गर्छौं। एक्स्पोमा सहभागी बैंक तथा वित्तीय साझेदारले आफ्ना कर्जा योजना र विशेष अफरसमेत प्रस्तुत गर्नेछन्। यसबाट ग्राहकलाई एकै ठाउँमा सवारीसाधन छनोट गर्नेदेखि कर्जा र बीमासम्मको जानकारी प्राप्त हुनेछ।

एक्स्पोमा सहभागी व्यवसायी र अवलोकनकर्तालाई के भन्न चाहनुहुन्छ ?

सहभागी ब्रान्डहरूले आफ्ना उत्पादनबारे स्पष्ट र पूर्ण जानकारी दिनुपर्छ। अवलोकनकर्तासँग राम्रो व्यवहार गर्नुपर्छ। एक्स्पोमा आउने सबै व्यक्ति तत्काल सवारीसाधन खरिद गर्नकै लागि आएका हुँदैनन्। धेरैजना बजार बुझ्न, विभिन्न विकल्प तुलना गर्न, भविष्यका लागि उपयुक्त सवारीसाधन छनोट गर्न र व्यावसायिक सम्बन्ध विस्तार गर्न आएका हुन्छन्।

त्यसैले व्यवसायीले अवलोकनकर्तालाई सोहीअनुसार सेवा दिनुपर्छ। अवलोकनकर्ताले पनि सवारीसाधनको मूल्य मात्र नभई सुरक्षा, प्रविधि, सञ्चालन खर्च, बिक्रीपछिको सेवा र आफ्नो वास्तविक आवश्यकता बुझेर उपयुक्त विकल्प छनोट गर्नुपर्छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.