एमजीको शक्तिशाली एसयूभी मेजेस्टर नेपालमा सार्वजनिक, मूल्य २ करोड ५० लाख
काठमाडौं । एमजीले नेपाली बजारमा आफ्नो प्रिमियम तथा शक्तिशाली एसयूभी मेजेस्टर सार्वजनिक गरेको छ। इन्डिया मेड एमजीको आधिकारिक बिक्रेता जीओ अटोमोबाइलले नाइमा मोबिलिटी एक्स्पोमार्फत मेजेस्टर नेपाली बजारमा भित्र्याएको हो।
कम्पनीले मेजेस्टरको मूल्य २ करोड ५० लाख रुपैयाँ तोकेको छ। शक्तिशाली इन्जिन तथा अफरोड क्षमताका कारण मेजेस्टरलाई एमजीको प्रिमियम एसयूभीका रूपमा प्रस्तुत गरिएको छ।
मेजेस्टरले गत मार्चमा ४०६.४ टन तौल भएको रेल तानेर गिनिज वर्ल्ड रेकर्ड समेत बनाएको कम्पनीले जनाएको छ। यसबाट गाडीको टोइङ क्षमता र इन्जिनको शक्ति प्रदर्शन भएको दाबी गरिएको छ।
२.० लिटर ट्विन टर्बो डिजेल इन्जिन
एमजी मेजेस्टरमा २.० लिटर ट्विन टर्बोचार्ज्ड डिजेल इन्जिन जडान गरिएको छ। उक्त इन्जिनले २१५.५ पीएस पावर र ४७८.५ न्युटन मिटर टर्क उत्पादन गर्छ। इन्जिनसँग ८-स्पीड अटोमेटिक गियरबक्स जोडिएको छ।
मेजेस्टर रियर ह्वील ड्राइभ तथा फोर ह्वील ड्राइभ दुवै विकल्पमा उपलब्ध हुनेछ। गाडीको लम्बाइ ५,०४६ एमएम, चौडाइ २,०१६ एमएम, उचाइ १,८७६ एमएम र ह्वीलबेस २,९५० एमएम रहेको छ।
म्याक्सस डी९० मा आधारित मेजेस्टरले ठूलो आकारको प्रिमियम एसयूभी खोज्ने ग्राहकलाई लक्षित गरेको कम्पनीको भनाइ छ।
बोल्ड डिजाइन
मेजेस्टरको अगाडिको भागमा ठूलो ग्लसी ब्ल्याक ग्रिल दिइएको छ। ग्रिलको दुवै छेउमा ठाडो आकारका एलईडी हेडलाइट तथा त्यसको माथिल्लो भागमा आइब्रो डिजाइनको स्लीक एलईडी डे टाइम रनिङ लाइट राखिएको छ।
अगाडिको बम्परको तल्लो भागमा रग्ड लुक दिने कालो बडी क्ल्याडिङ प्रयोग गरिएको छ। गाडीमा १९ इन्चको डुअल-टोन अलोय ह्वील दिइएको छ भने पछाडि कनेक्टेड एलईडी टेललाइट र सिल्भर कलरको स्किड प्लेट राखिएको छ। दुईवटा एग्जस्ट पाइपले यसको स्पोर्टी स्वरूपलाई थप बलियो बनाएको छ।
अफरोड किङ
मेजेस्टरलाई कठिन भूभागमा समेत प्रभावकारी प्रदर्शन गर्ने गरी डिजाइन गरिएको कम्पनीको दाबी छ। यसमा १० वटा अफरोड मोडसहितको फोर ह्वील ड्राइभ सिस्टम, अगाडि, पछाडि र बीचका लागि ट्रिपल डिफरेन्सियल लक तथा क्रल कन्ट्रोल उपलब्ध छन्।
गाडीमा २१९ एमएम ग्राउण्ड क्लियरेन्स रहेको छ। यसले ८१० एमएमसम्म गहिरो पानी पार गर्न सक्ने क्षमता राख्ने कम्पनीले जनाएको छ।
लेभल–२ एडासदेखि मसाज सिटसम्म
सुरक्षाका लागि मेजेस्टरमा लेभल–२ एडास उपलब्ध छ। यसको इन्टेरियरमा पनि विभिन्न प्रिमियम तथा प्रविधिमैत्री सुविधा समावेश गरिएको छ।
ड्यासबोर्डमा १२.३ इन्चको फ्लोटिङ टचस्क्रिन र १२.३ इन्चकै इन्फर्मेसन डिस्प्ले दिइएको छ। त्यस्तै, थ्री-स्पोक स्टेयरिङ ह्वीलले क्याबिनलाई थप आधुनिक बनाएको छ।
यात्रुको आरामलाई ध्यानमा राख्दै मेजेस्टरमा थ्री-जोन क्लाइमेट कन्ट्रोल, १२ स्पिकरसहितको साउन्ड सिस्टम, हिटेड तथा भेन्टिलेटेड सिट र मसाज सिट जस्ता सुविधा उपलब्ध छन्।
शक्तिशाली इन्जिन, फोर ह्वील ड्राइभ क्षमता, अफरोड प्रविधि तथा प्रिमियम क्याबिनका कारण मेजेस्टरले नेपाली बजारको प्रिमियम एसयूभी सेग्मेन्टमा प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।