काठमाण्डौ । भारतीय इलेक्ट्रिक कमर्सियल भेहिकल निर्माता मोन्ट्रा इलेक्ट्रिकले नेपालको बजारमा आफ्नो फ्ल्यागसिप यात्रुवाहक इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक गरेको छ। कम्पनीले नेपाललाई आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा प्रवेश गराएको हो।
मोन्ट्रा इलेक्ट्रिकले नेपालमा आधिकारिक राष्ट्रिय वितरक HIPCO ट्रेडिंग प्रालिमार्फत सुपर अटो बिक्री सुरु गरेको हो। काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले सुपर अटो सार्वजनिक गरेका थिए।
नेपालको सडक, भौगोलिक अवस्था र स्थानीय बजारको आवश्यकतालाई ध्यानमा राखेर सुपर अटोको इन्जिनियरिङ तथा परीक्षण गरिएको कम्पनीले जनाएको छ। विशेषगरी पहाडी तथा कठिन भू–भागमा प्रयोगलाई लक्षित गर्दै सवारीमा ३२ प्रतिशत ग्रेडेबिलिटी र हिल–होल्ड असिस्ट जस्ता सुविधा समावेश गरिएको छ।
सुपर अटोमा ९ किलोवाट–घण्टा ब्याट्री प्याक र PMSM मोटर प्रयोग गरिएको छ। यसले अधिकतम ६० Nm टर्क, एकपटक पूर्ण चार्जमा १५० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज तथा ५५ किलोमिटर प्रतिघण्टा अधिकतम गति दिने कम्पनीको दाबी छ। ब्याट्री पूर्ण रूपमा चार्ज गर्न करिब ४.५ घण्टा लाग्ने बताइएको छ।
सवारीमा विभिन्न ड्राइभ मोड, पूर्ण डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, एर्गोनोमिक डुअल–टोन सिट, सुधारिएको हेडरुम तथा लेगरुम र प्रभावकारी विन्डस्क्रिन तथा रूफ डिजाइन उपलब्ध छन्। यी सुविधाले चालक तथा यात्रुलाई लामो दूरीको यात्रामा समेत सहजता प्रदान गर्ने कम्पनीको भनाइ छ।
मोन्ट्रा इलेक्ट्रिकका अनुसार इलेक्ट्रिक थ्री–ह्विलरमा रूपान्तरण गर्दा चालक तथा फ्लीट सञ्चालकले कुल स्वामित्व लागत (TCO) घटाउन सक्नेछन्। कम सञ्चालन तथा मर्मतसम्भार खर्चका साथै पेट्रोल तथा डिजेलको मूल्यमा हुने उतारचढावबाट हुने प्रभाव कम गर्नु इलेक्ट्रिक सवारीका प्रमुख आर्थिक लाभ भएको कम्पनीले जनाएको छ।
नेपालमा सुपर अटोको मूल्य ८ लाख ६४ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ।
सार्वजनिक कार्यक्रममा बोल्दै HIPCO ट्रेडिंगका निर्देशक हिमांशु गोल्छाले इलेक्ट्रिक मोबिलिटीको विस्तारले आयातित इन्धनमा नेपालको निर्भरता तथा प्रदूषण घटाउन सहयोग गर्ने बताए। उनका अनुसार देशभर इलेक्ट्रिक मोबिलिटीलाई प्रोत्साहन गर्न यस्ता साझेदारीले नेपालको यातायात क्षेत्रलाई थप दिगो बनाउन योगदान पुर्याउनेछ।
मोन्ट्रा इलेक्ट्रिक तथा TI क्लिन मोबिलिटीका अध्यक्ष अरुण मुरुगप्पनले नेपालको नवीकरणीय ऊर्जा क्षमता र मोन्ट्रा इलेक्ट्रिकको मोबिलिटी प्रविधिबीचको सहकार्य स्वाभाविक र पारस्परिक लाभदायी रहेको बताए। उनले भारतीय इन्जिनियरिङ तथा प्रविधिले छिमेकी मुलुकको दिगो विकासमा योगदान गर्न सक्ने उदाहरणका रूपमा नेपाल प्रवेशलाई व्याख्या गरे।
त्यस्तै, TI क्लिन मोबिलिटीका प्रबन्ध निर्देशक जलज गुप्ताले नेपाल प्रवेशलाई कम्पनीको विश्वव्यापी विस्तारको महत्वपूर्ण अध्यायका रूपमा प्रस्तुत गरे। उनका अनुसार नेपालको अतिरिक्त विद्युत् क्षमतालाई विद्युतीय यातायातमा उपयोग गर्ने सम्भावना कम्पनीको नेपाल प्रवेशको प्रमुख आधारमध्ये एक हो।
HIPCO ट्रेडिंगका निर्देशक सिद्धार्थ जजोडियाले नेपालभर विस्तार भइरहेको डिलर तथा सर्भिस नेटवर्कमार्फत बिक्री, बिक्रीपछिको सेवा, स्पेयर पार्ट्स तथा ग्राहक सहायता उपलब्ध गराइने जानकारी दिए। आगामी दिनमा उत्पादनको दायरा विस्तार गर्दै नेपालको इलेक्ट्रिक मोबिलिटी इकोसिस्टमलाई थप बलियो बनाउने योजना रहेको उनले बताए।
सुपर अटोको नेपाल प्रवेशसँगै मोन्ट्रा इलेक्ट्रिकले घरेलु बजारमा स्थापित इलेक्ट्रिक कमर्सियल भेहिकल कम्पनीबाट अन्तर्राष्ट्रिय बजारमा विस्तार हुने यात्रालाई अघि बढाएको जनाएको छ। कम्पनीले विभिन्न भू–भाग र लास्ट–माइल यातायातका आवश्यकताअनुसार विद्युतीय सवारीसाधन विकास गर्दै विश्वव्यापी बजार विस्तार गर्ने रणनीति लिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।