काठमाण्डौ । राजधानीमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६’ मा प्रतिकूल मौसमका बाबजुद अवलोकनकर्ताको उत्साहजनक उपस्थिति देखिएको छ। भारी वर्षाबीच पनि एक्स्पोको तेस्रो दिनसम्म ७७ हजारभन्दा बढीले मेला अवलोकन गरेका छन्।
नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)का अनुसार एक्स्पोको पहिलो दिन २९ हजार, दोस्रो दिन २६ हजार र तेस्रो दिन २२ हजारभन्दा बढी अवलोकनकर्ता भृकुटीमण्डप पुगेका हुन्। मेला अवधिभर करिब डेढ लाख अवलोकनकर्ता सहभागी हुने आयोजकको अपेक्षा छ।
एक्स्पोमा ५५ भन्दा बढी ब्रान्डका दुईपाङ्ग्रे, चारपाङ्ग्रे तथा व्यावसायिक सवारीसाधन प्रदर्शनीमा राखिएका छन्। विभिन्न कम्पनीले हालसम्म ५२ वटा नयाँ मोडल सार्वजनिक गरिसकेका छन्। नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डसँगै नयाँ मोडलका विद्युतीय कार, ई–स्कुटर र विद्युतीय व्यावसायिक सवारीसाधनले अवलोकनकर्ताको विशेष ध्यान तानेका छन्।

एक्स्पोमा करिब १६–१७ लाख रुपैयाँदेखि ३ करोड रुपैयाँभन्दा बढी मूल्यका चारपाङ्ग्रे सवारीसाधन उपलब्ध छन्। विभिन्न मूल्य समूहका सवारी राखिएकाले ग्राहकले आफ्नो आवश्यकता र बजेटअनुसार गाडी छनोट गर्न पाएका छन्।
ललितपुरको भैंसेपाटीबाट एक्स्पो अवलोकन गर्न पुगेका विक्रम सुवेदीले मेलामा सबै आर्थिक क्षमताका ग्राहकका लागि विकल्प उपलब्ध रहेको बताए।
‘१६–१७ लाखदेखि ३ करोड रुपैयाँभन्दा बढी मूल्यका चारपाङ्ग्रे सवारीसाधन प्रदर्शनीमा राखिएका रहेछन्,’ उनले भने, ‘जत्रो गोजी छ, त्यस्तै कार चढ्न पाउनु पनि राम्रो कुरा हो।’

दुईपाङ्ग्रे सवारीका स्टलमा पनि उल्लेख्य भीड देखिएको छ। विशेषगरी महँगा र प्रविधियुक्त मोटरसाइकल तथा स्कुटरप्रति युवाको आकर्षण बढी देखिएको आयोजकले जनाएको छ।
एक्स्पोमा पुगेका सम्भावित ग्राहकले विद्युतीय सवारीको ब्याट्री क्षमता, मोटरको शक्ति, एकपटकको चार्जमा दिने रेन्ज, आफ्टर सेल्स सर्भिस, ब्याट्रीको वारेन्टी तथा ग्यारेन्टी र रिसेल भ्यालुका विषयमा बढी चासो देखाएका छन्।
ग्राहक आकर्षित गर्न कम्पनीहरूले नगद छुट, एक वर्षको बिमा तथा सवारी कर, निःशुल्क सर्भिसिङ र सहुलियत ब्याजदरमा कर्जालगायतका अफर ल्याएका छन्। सहभागी बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीले समेत सवारी खरिदका लागि विशेष वित्तीय योजना उपलब्ध गराइरहेका छन्।
एक्स्पोको तेस्रो दिन ‘मोबिलाइजिङ मोबिलिटी थ्रु फाइनान्स एन्ड इन्स्योरेन्स’ विषयमा नाइमा मोबिलिटी संवादसमेत आयोजना गरिएको थियो। उद्यमी तथा वित्तीय साक्षरता विज्ञ संजोग कोइरालाले सहजीकरण गरेको संवादमा नेपाल राष्ट्र बैंकका निर्देशक सत्येन्द्र सुवेदी, ग्लोबल आइएमई बैंकका प्रमुख बजार अधिकृत राजा अर्याल, एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिलबल्लभ पन्त र हुलास फिनसर्भ हायर पर्चेजका प्रमुख कार्यकारी अधिकृत समिर ठाकुर सहभागी थिए।
यसअघि ‘मोबिलिटीः हिजो, आज र भोलि’ तथा ‘लगानी र प्रत्यक्ष वैदेशिक लगानीः आर्थिक वृद्धिका लागि परिचालन’ विषयमा छलफल गरिएको थियो। एक्स्पो अवधिभर स्वदेशी तथा विदेशी विज्ञको सहभागितामा मोबिलिटी क्षेत्रका विभिन्न आयामबारे संवाद सञ्चालन हुनेछन्।
दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित एक्स्पोको दोस्रो संस्करण साउन ३१ गतेसम्म सञ्चालन हुनेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।