काठमाण्डौ । सुजुकी मोटरसाइकल नेपालले आधुनिक स्मार्ट कनेक्टिभिटी सुविधासहितको नयाँ ‘सुजुकी एक्सेस १२५ कनेक्टेड’ स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले काठमाण्डौमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ मा उक्त स्कुटर सार्वजनिक गरेको हो।
नयाँ एक्सेस १२५ मा ब्लुटुथमार्फत स्मार्टफोनसँग जोड्न सकिने डिजिटल एलसीडी डिस्प्ले र ‘सुजुकी राइड कनेक्ट’ सुविधा उपलब्ध गराइएको छ। यो प्रविधिले चालकलाई स्कुटर चलाइरहेकै अवस्थामा यात्रासँग सम्बन्धित विभिन्न सूचना प्राप्त गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ।
स्कुटरमा टर्न–बाई–टर्न नेभिगेसन, गन्तव्यमा पुग्न लाग्ने अनुमानित समय, फोन कलको सूचना, एसएमएस तथा ह्वाट्सएप नोटिफिकेसन र मिस्ड कल अलर्टलगायतका सुविधा छन्। मोबाइलको ब्याट्री र नेटवर्क अवस्थासम्बन्धी जानकारी पनि स्कुटरको डिजिटल डिस्प्लेबाट हेर्न सकिनेछ।
यसमा स्पिड अलर्ट, ट्रिप रेकर्ड, स्कुटर पार्क गरिएको अन्तिम स्थान र नियमित सर्भिसको रिमाइन्डरजस्ता सुविधा पनि समावेश गरिएको छ। यी सुविधाले दैनिक सहरी यात्रालाई सुरक्षित, सहज र प्रविधिमैत्री बनाउने कम्पनीको दाबी छ।
नयाँ एक्सेस १२५ मा सुजुकीको १२४ सीसी इन्जिन प्रयोग गरिएको छ। कनेक्टिभिटीसँगै दैनिक प्रयोगका लागि आवश्यक व्यावहारिक सुविधा र विश्वसनीय कार्यसम्पादनलाई प्राथमिकता दिइएको कम्पनीले जनाएको छ।
सुजुकी मोटरसाइकल नेपालका महाप्रबन्धक पारस जैनले नयाँ एक्सेस १२५ कनेक्टेडमार्फत नेपाली स्कुटर प्रयोगकर्तामाझ उपयोगी स्मार्ट प्रविधि भित्र्याइएको बताए।

स्मार्ट कनेक्टिभिटी, प्रयोगमा सहजता र सुजुकीको विश्वसनीय कार्यसम्पादनको संयोजनले नयाँ मोडललाई कम्पनीको उत्पादन पोर्टफोलियोमा थप आकर्षक बनाउने उनको विश्वास छ।
नेपालका लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक भीजी अटोमोबाइल्स प्रालि हो। नयाँ सुजुकी एक्सेस १२५ कनेक्टेड नाइमा एक्स्पोस्थित सुजुकीको प्याभिलियनमा अवलोकन गर्न सकिने कम्पनीले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।