शुक्रबार, श्रावण २९,२०८३ 11:33:26
Bizshala
  • शुक्रबार, श्रावण २९,२०८३ 11:33:26
Bizshala
Global IME Bank Limited

नाइमा मोबिलिटी एक्स्पोमा उर्लियो जनसागर, चार दिनमै १ लाख ८ हजारभन्दा बढी अवलोकनकर्ता

अपेक्षाभन्दा धेरै भीड बढेपछि सप्ताहान्तका लागि विशेष तयारी, ५५ भन्दा बढी ब्रान्ड र ५२ नयाँ मोडल बने आकर्षण

Prabhu Bank Limited
नाइमा मोबिलिटी एक्स्पोमा उर्लियो जनसागर, चार दिनमै १ लाख ८ हजारभन्दा बढी अवलोकनकर्ता
New Office

काठमाडौं । भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६’ ले अपेक्षाभन्दा निकै ठूलो संख्यामा अवलोकनकर्ता तानेको छ। एक्स्पो सुरु भएको चार दिनमै १ लाख ८ हजारभन्दा बढी मानिसले अवलोकन गरेका छन्।

दैनिक औसत २५ हजार र एक्स्पो अवधिभर करिब डेढ लाख अवलोकनकर्ता आउने आयोजकको प्रारम्भिक अनुमान थियो। तर चार दिनमै अनुमानको झन्डै तीनचौथाइ मानिस एक्स्पोमा पुगेपछि आयोजक नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) उत्साहित बनेको छ।

उद्घाटनको दिन साउन २६ गते २९ हजार, दोस्रो दिन २६ हजार, तेस्रो दिन २२ हजार र चौथो दिन ३१ हजारभन्दा बढी अवलोकनकर्ता एक्स्पोमा पुगेका छन्। पछिल्लो उपस्थितिले एक्स्पो अवधिभरको कुल संख्या प्रारम्भिक अनुमानभन्दा धेरै माथि जान सक्ने देखाएको छ।

CG Motors

भीड थेग्न सप्ताहान्तमा विशेष व्यवस्था

शनिबार र आइतबार अझ धेरै अवलोकनकर्ता आउने अनुमान गर्दै नाइमाले पार्किङ तथा भीड व्यवस्थापनमा विशेष तयारी गरेको जनाएको छ। सुरुवाती चार दिनमै भृकुटीमण्डप क्षेत्रका खुला स्थान र नेपाल पुलिस क्लब भवनका दुवै तला भरिँदा पार्किङ अभाव देखिएको थियो।

नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले अवलोकनकर्ताको सहजताका लागि सप्ताहान्तमा पार्किङ स्थलको विशेष व्यवस्थापन गरिएको बताए।

‘अवलोकनकर्ताको उल्लेख्य सहभागिताका कारण शनिबार र आइतबारका लागि पार्किङ तथा व्यवस्थापनमा विशेष तयारी गरेका छौँ,’ उनले भने।

एक्स्पो बिहान ११ बजे खुल्ने भए पनि १० बजेदेखि नै प्रवेशद्वारमा मानिसको लाइन लाग्ने गरेको व्यवस्थापकीय साझेदार मिडिया स्पेस सोलुसन्सका प्रबन्ध निर्देशक श्रीजल भट्टराईले बताए। उनका अनुसार एक्स्पोप्रति देखिएको आकर्षण आयोजकको अपेक्षाभन्दा माथि पुगेको छ।

भक्तपुरको पुरानो ठिमीबाट एक्स्पो अवलोकन गर्न पुगेकी नवीना नकर्मीले विगतका अटो मेलाको तुलनामा यसपटक असाधारण भीड देखिएको बताइन्। सवारीसाधनका ब्रान्ड, फिचर तथा सुविधाबारे जानकारी राख्ने उनले एउटै स्थानमा धेरै विकल्प तुलना गर्न पाउनु एक्स्पोको मुख्य विशेषता भएको उल्लेख गरिन्।

एउटै छानामुनि ५५ ब्रान्ड, ५२ नयाँ मोडल सार्वजनिक

एक्स्पोमा ५५ भन्दा बढी ब्रान्डका सवारीसाधन प्रदर्शनमा राखिएका छन्। चौथो दिनसम्म विभिन्न कम्पनीले ५२ वटा नयाँ मोडल सार्वजनिक गरिसकेका छन्। नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डदेखि नयाँ मोडलका विद्युतीय कार, ई–स्कुटर र विद्युतीय व्यावसायिक सवारीसाधनसम्म एक्स्पोका मुख्य आकर्षण बनेका छन्।

दुईपाङ्ग्रे सवारीका स्टलमा पनि उल्लेख्य भीड देखिएको छ। विशेषगरी प्रिमियम र महँगा ब्रान्डतर्फ युवाको आकर्षण बढी रहेको आयोजकले जनाएको छ।

नयाँ सवारी खरिदको योजना बनाएका उपभोक्ताले एक्स्पोलाई विभिन्न ब्रान्ड र मोडल प्रत्यक्ष तुलना गर्ने अवसरका रूपमा लिएका छन्। विद्युतीय सवारीमा ब्याट्री क्षमता, मोटर पावर, रेन्ज, चार्जिङ सुविधा, आफ्टर सेल्स सर्भिस, ब्याट्रीको वारेन्टी तथा ग्यारेन्टी र पुनर्बिक्री मूल्यबारे बढी जिज्ञासा देखिएको छ।

कम्पनीहरूले ग्राहक आकर्षित गर्न नगद छुट, एक वर्षको बिमा, एक वर्षको सवारी कर, निःशुल्क सर्भिसिङ र सहुलियत ब्याजदरमा कर्जालगायत सुविधा दिएका छन्। बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूले पनि एक्स्पोमै विशेष वित्तीय तथा बिमा योजना उपलब्ध गराइरहेका छन्।

सवारी प्रदर्शनीसँगै भविष्यको मोबिलिटीमाथि बहस

एक्स्पोलाई सवारीसाधनको प्रदर्शनी र बिक्रीमा मात्र सीमित नराखी मोबिलिटी क्षेत्रको भविष्यबारे नीतिगत तथा प्राविधिक बहस पनि सञ्चालन गरिएको छ। चौथो दिन ‘ब्याट्री रिसाइकल र इन्धनमा इथानोल मिश्रण’ विषयमा विज्ञहरूले छलफल गरेका छन्।

यसअघिका संवादमा मोबिलिटी क्षेत्रका लागि वित्त तथा बिमाको परिचालन, ‘मोबिलिटीः हिजो, आज र भोलि’ तथा आर्थिक वृद्धिका लागि लगानी र प्रत्यक्ष वैदेशिक लगानीको भूमिकाबारे छलफल भएको थियो। एक्स्पो अवधिभर स्वदेशी तथा विदेशी विज्ञको सहभागितामा ‘नाइमा मोबिलिटी संवाद’ सञ्चालन हुनेछ।

नेपालमा दिगो, हरित र प्रविधिमैत्री यातायात प्रणाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पोको यो दोस्रो संस्करण हो। साउन ३१ गतेसम्म सञ्चालन हुने एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारी निर्माता र आयातकर्ताको उल्लेख्य सहभागिता छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.