आईतवार, श्रावण ३१,२०८३ 09:06:59
Bizshala
  • आईतवार, श्रावण ३१,२०८३ 09:06:59
Bizshala
Global IME Bank Limited

जाजरकोटमा पहिरोः १० जना घाइते, तीन जना सम्पर्कविहीन

Prabhu Bank Limited
जाजरकोटमा पहिरोः १० जना घाइते, तीन जना सम्पर्कविहीन
New Office

काठमाण्डौ । भेरी नगरपालिका–२, रिसाङमा अविरल वर्षापछि गएको पहिरोमा परी १० जना घाइते भएका छन् भने तीन जना सम्पर्कविहीन भएका छन्। बिहीबार दिउँसो करिब ४ बजेदेखि परेको लगातार वर्षाका कारण रिसाङका विभिन्न स्थानमा पहिरो गएको हो।

पहिरोका कारण घर तथा टहरा भत्किएको र मानव बस्ती जोखिममा परेको सूचना पाएपछि उद्धार तथा खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित ५० जनाको टोली घटनास्थलमा परिचालन गरिएको छ।

पहिरोमा परी भेरी नगरपालिका–२ रिसाङका ६० वर्षीय रामबहादुर शाही गम्भीर घाइते भएका छन्। आरनमा काम गरिरहेका बेला माथिबाट पहिरो खस्दा उनको छाती, टाउको र हातमा चोट लागेको थियो। जिल्ला अस्पताल जाजरकोटमा प्राथमिक उपचारपछि उनलाई राति नेपालगञ्ज रिफर गरिएको छ।

आरन सञ्चालक ४५ वर्षीय सिद्धिबहादुर कामी पनि घाइते भएका छन्। उनको ढाडमा चोट लागेको छ र जिल्ला अस्पतालमै उपचार भइरहेको छ। यस्तै, भेरी नगरपालिका–२ चिसापानीकी ५७ वर्षीया भद्राकली कार्की गम्भीर घाइते भएकी छन्। उनलाई जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि सुर्खेत रिफर गरिएको छ।

CG Motors

पहिरोमा भेरी नगरपालिका–१ डौरीकाँडाका ४५ वर्षीय मनवीर चदरा, १६ वर्षीया मनिषा विक र ४७ वर्षीया मोतीकला विक पनि घाइते भएका छन्। उनीहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।

त्यसैगरी भेरी नगरपालिका–२ का करिब ५२ वर्षीय केदार कार्की, करिब २३ वर्षीया अनिता कार्की, १० वर्षीय युनिश शाही र ४५ वर्षीया सुन्तली चदरा पनि घाइते भएका छन्। केदार कार्कीलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ भने अन्य घाइतेको उपचार भइरहेको छ।

पहिरो आएपछि भाग्ने क्रममा भेरी नगरपालिका–२ फारुलाका करिब ५४ वर्षीय उमासिंह खत्री, सोही वडाको चिसापानीका करिब ७० वर्षीय भीमबहादुर कार्की र भेरी नगरपालिका–२ का करिब ८७ वर्षीया रती खत्री सम्पर्कविहीन भएका छन्।

उनीहरूको खोजीका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ। घटनास्थलमा उद्धार तथा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

पहिरोका कारण भेरी नगरपालिका–३ स्यालाका पूर्णबहादुर विकको ढुंगा–माटोबाट निर्मित दुईतले, ६ कोठे कच्ची घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। घरमा रहेका पाँच जना परिवारका सदस्य भने सुरक्षित रूपमा आफन्तको घरमा बसेका छन्।

यस्तै, सोही क्षेत्रकी भैरवी केसीका दुईवटा टिनका अस्थायी टहरा पनि पहिरोले पूर्ण रूपमा क्षति भएका छन्। ती टहरामा हाल मानिस बसोबास नगरेको जनाइएको छ।

अविरल वर्षाका कारण पहिरो जाने क्रम नरोकिएकाले स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ। घटनास्थलको क्षति तथा खोजी–उद्धार कार्यबारे थप विवरण आउने क्रम जारी रहेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.