काठमाण्डौ। चीनको शाङच मोटर्सद्वारा उत्पादित आरजेडएम ब्रान्डका विद्युतीय सवारी साधनको नेपालका लागि आधिकारिक वितरक राठी ट्रेडिङ कम्पनी प्रालिले भक्तपुरको मनोहरामा अत्याधुनिक सर्भिस सेन्टर तथा चार्जिङ नेटवर्क सञ्चालनमा ल्याएको छ।
कम्पनीले मनोहरास्थित राठी अटो वर्क्स र राठी चार्जिङ नेटवर्क बुधबारदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो। शाङच मोटर्सका इन्टरनेसनल जनरल म्यानेजर केन सुन र राठी ट्रेडिङ कम्पनीका अध्यक्ष दिनेश कुमार राठीले संयुक्त रूपमा सर्भिस सेन्टर तथा चार्जिङ नेटवर्कको शुभारम्भ गरे।
शुभारम्भ कार्यक्रममा शाङच आरजेडएम अटोका इन्टरनेसनल जनरल म्यानेजर केन सुनले नेपालमा विद्युतीय सवारी साधनको प्रयोग बढ्दै गएकाले गुणस्तरीय ईभी उपलब्ध गराउने उद्देश्यले कम्पनीले काम गरिरहेको बताए। उनले सवारी बिक्रीसँगै स्पेयर पार्ट्स र सेवा सञ्जाल विस्तारमा समेत कम्पनीले ध्यान दिएको जानकारी दिए।
राठी ट्रेडिङका अध्यक्ष दिनेश कुमार राठीले सवारी बिक्रीपछि ग्राहकलाई गुणस्तरीय सेवा, आवश्यक स्पेयर पार्ट्स तथा भरपर्दो चार्जिङ सुविधा उपलब्ध गराउनु कम्पनीको प्रमुख जिम्मेवारी भएको बताए। सर्भिस सेन्टर र चार्जिङ नेटवर्कको विस्तार त्यसैको प्रतिबद्धताको हिस्सा भएको उनको भनाइ छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज खतिवडाले विद्युतीय सवारीको प्रयोग बढेसँगै बिक्रीपछिको सेवामा विशेषगरी चार्जिङ पूर्वाधार महत्वपूर्ण हुने बताए। सोहीअनुसार कम्पनीले देशभर सर्भिस तथा चार्जिङ नेटवर्क विस्तार गरिरहेको उनले जानकारी दिए।
कार्यक्रममा ट्राफिक प्रहरी प्रभाग गट्ठाघरका प्रहरी नायब निरीक्षक बिक्रम बिकले विद्युतीय सवारी चलाउँदा अपनाउनुपर्ने सुरक्षा तथा ट्राफिक सचेतनाबारे जानकारीमूलक प्रस्तुति दिएका थिए। ईभीमा आधुनिक प्रविधिको प्रयोग बढी हुने भएकाले चालकले थप सावधानी अपनाउनुपर्ने उनले बताए।
एकैपटक १२ वटा ईभी चार्ज गर्न सकिने
मनोहरास्थित नयाँ सर्भिस सेन्टरमा एकै स्थानमा सवारी सर्भिसिङ, चार्जिङ र वासिङको सुविधा उपलब्ध गराइएको छ। सेन्टरमा एकैपटक १२ वटा विद्युतीय सवारी साधन चार्ज गर्न सकिने कम्पनीले जनाएको छ।
अन्तर्राष्ट्रिय मापदण्डअनुसारका पूर्वाधारसहितको सर्भिस सेन्टरमा पर्याप्त पार्किङ, ग्राहकका लागि बस्ने स्थान तथा क्याफेको सुविधा छ। ग्राहकले वर्कशपमा भइरहेको कामसमेत लाइभ हेर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
सर्भिसिङका लागि आवश्यक स्पेयर पार्ट्स, लुब्रिकेन्ट्स तथा इलेक्ट्रिकल पार्ट्स स्टकमा राखिएको छ। सामान्य पार्ट्स देशका जुनसुकै स्थानमा ४८ घण्टाभित्र र अन्य पार्ट्स ७२ घण्टाभित्र उपलब्ध गराउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
देशभर चार्जिङ नेटवर्क विस्तार गर्ने योजना
कम्पनीले काठमाडौंमा हाल ४८० किलोवाट क्षमताको चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ। कम्पनीका अनुसार यो नेपालमा उपलब्ध तीव्र गतिमा चार्ज गर्न सकिने चार्जिङ स्टेसनमध्ये एक हो।
त्यस्तै, नवलपरासीको गैँडाकोटमा ६४० किलोवाट क्षमताको चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको छ। चालु वर्षभित्रै पूर्वदेखि पश्चिमसम्म देशका प्रमुख सहरमा चार्जिङ स्टेसन विस्तार गर्ने कम्पनीको योजना छ।
कम्पनीका अनुसार प्रत्येक स्थानमा विभिन्न सुविधा समेटिएको ४ मेगावाट क्षमताका चार्जिङ स्टेसन विस्तार गर्ने लक्ष्य राखिएको छ। यस्ता स्टेसनलाई ग्राहकका लागि ‘वान स्टप सोलुसन’का रूपमा विकास गरिने जनाइएको छ।
दुई मोडलका ईभी भ्यान उपलब्ध
राठी ट्रेडिङले शाङच मोटर्सद्वारा उत्पादित आरजेडएम ई५ र आर५ गरी दुई मोडलका विद्युतीय भ्यान नेपाली बजारमा बिक्री गर्दै आएको छ।
आरजेडएम ई५ मा ५३.५ किलोवाट आवरको सीएटीएल थर्ड जेनेरेसन ब्याट्री प्रयोग गरिएको छ। यसले डब्लुएलटीपी मापदण्डअनुसार एकपटकको चार्जमा करिब ३०० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ।
त्यस्तै, आर५ मा ७७.२८ र ८६.५५ किलोवाट आवर क्षमताका ब्याट्री विकल्प छन्, जसले एकपटक चार्जमा क्रमशः ३३० र ४०० किलोमिटरसम्म रेन्ज दिने बताइएको छ। ६० किलोवाटको चार्जर प्रयोग गर्दा आर५ करिब ४५ मिनेटमा चार्ज गर्न सकिने कम्पनीले जनाएको छ।
आरजेडएमका ईभी भ्यानमा १८० मिलिमिटर ग्राउन्ड क्लियरेन्स, बकेट सिट, इलेक्ट्रिक पार्किङ ब्रेक, चारै पांग्रामा डिस्क ब्रेक, अटो होल्ड, हिल असिस्ट, शक्तिशाली एसी, ६४ इन्चको इन्टेरियर हाइट, डायमन्ड कट अलोय ह्विल, स्पेयर ह्विल तथा अन्डरबडी प्रोटेक्सनलगायतका सुविधा रहेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार नेपाली सडकमा परीक्षण गरी आवश्यक सुधारसहित सवारी साधन बजारमा ल्याइएकाले आरजेडएमका ईभी नेपाली ग्राहकको रोजाइमा पर्दै आएका छन्। कम्पनीले ब्याट्रीमा ७ वर्ष वा ४ लाख किलोमिटर तथा मोटर र अन्य प्रमुख कम्पोनेन्टमा ५ वर्ष वा २ लाख किलोमिटरसम्मको वारेन्टी उपलब्ध गराउँदै आएको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।