काठमाण्डौ। क्यानडा सरकारले अमेरिकाले पछिल्लोपटक लगाएको ५० प्रतिशतसम्मको करको जवाफमा ७०० भन्दा बढी अमेरिकी वस्तुमा प्रतिशोधात्मक कर लगाउने घोषणा गरेको छ। क्यानडाले मंगलबार घोषणा गरेको नयाँ करको कुल मूल्य २७.६ अर्ब क्यानडेली डलर अर्थात् करिब २० अर्ब अमेरिकी डलरबराबर रहेको छ।
क्यानडाली अधिकारीहरूका अनुसार नयाँ प्रतिशोधात्मक कर अमेरिकाले क्यानडाली उत्पादनमा लगाएको करको कुल मूल्यबराबर हुने गरी ‘डलरका लागि डलर, दरका लागि दर’ आधारमा तय गरिएको हो। नयाँ कर आगामी सेप्टेम्बर ८ देखि औपचारिक रूपमा लागू हुनेछ।
क्यानडाका अर्थमन्त्री फ्राँस्वा–फिलिप श्याम्पेनले पारस्परिक करसँगै घोषणा गरिएको बहुअर्ब डलरको सहायता प्याकेजले श्रमिक, किसान, परिवार तथा व्यवसायको संरक्षणमा सहयोग पुग्ने बताएका छन्।
क्यानडा सरकारले सार्वजनिक गरेको सूचीअनुसार नयाँ प्रतिशोधात्मक कर मुख्यतः स्टिल, दुग्धजन्य पदार्थ, घरेलु उपकरण, कृषि उपकरण, पल्प तथा पेपर र इलेक्ट्रोनिक्सलगायत क्षेत्रमा केन्द्रित छ। नयाँ करका दर १५ प्रतिशत, २५ प्रतिशत र ५० प्रतिशत गरी तीन तहमा निर्धारण गरिएको छ।
स्टिल र आल्मुनियमजस्ता केही क्षेत्रमा यसअघि लगाइएको २५ प्रतिशतको प्रतिशोधात्मक करलाई बढाएर ५० प्रतिशत पुर्याइने भएको छ। यसले अमेरिकी पक्षले लगाएको करदर बराबर बनाउने क्यानडाको योजना छ।
क्यानडाको वित्त मन्त्रालयका अनुसार अमेरिकी अटोमोबाइलमा यसअघि लागू रहेको प्रतिशोधात्मक कर भने यथावत् रहनेछ। त्यस्तै, अमेरिकी चिज, माछा तथा समुद्री खाद्य पदार्थ र स्टिल तथा आल्मुनियमका केही उत्पादनमा २५ प्रतिशत कर लगाइनेछ।
कर घोषणासँगै क्यानडा सरकारले घरेलु व्यवसाय तथा श्रमिकलाई लक्षित गर्दै ७.५ अर्ब क्यानडेली डलरबराबरको राहत प्याकेजसमेत घोषणा गरेको छ।
विशेषगरी साना तथा मझौला उद्यमलाई लक्षित गरिएको उक्त सहायता प्याकेजमार्फत कम्पनीहरूलाई कर्मचारी कटौतीबाट जोगिन सहयोग गर्ने, श्रमिकलाई नयाँ सीप विकास तथा दक्षता अभिवृद्धिको अवसर प्रदान गर्ने र रोजगार बीमा सुविधा लिन थप लचकता उपलब्ध गराउने सरकारको योजना छ।
क्यानडा सरकारले अमेरिकी करका कारण आफ्ना उद्योग तथा श्रम बजारमा पर्न सक्ने असर न्यूनीकरण गर्दै घरेलु उत्पादन र व्यवसायलाई संरक्षण गर्ने उद्देश्यले प्रतिशोधात्मक कर तथा राहत प्याकेज ल्याएको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।