काठमाण्डौ । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि उद्धार तथा उपचारमा सहयोग गर्न काठमाडौं महानगरपालिकाले आफ्नो विपद् व्यवस्थापन संयन्त्र सक्रिय बनाएको छ।
कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको महानगरको विपद् व्यवस्थापन समितिको बैठकले बाढी प्रभावित क्षेत्रमा आवश्यक प्रतिकार्य सञ्चालन, समन्वय र सहजीकरणका लागि तत्काल विभिन्न निर्णय गरेको हो।
बैठकले महानगरपालिकाबाट सञ्चालन भइरहेका ४ वटा एम्बुलेन्स नुवाकोटतर्फ पठाउने निर्णय गरेको छ। त्यस्तै २ वटा एम्बुलेन्स त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तयारी अवस्थामा राखिएको छ।
बाढी प्रभावित क्षेत्रबाट हेलिकोप्टरमार्फत काठमाडौं ल्याइने घाइतेलाई विमानस्थलबाट तत्काल अस्पताल पुर्याउन ती एम्बुलेन्स परिचालन गरिनेछ।
महानगरले विपद् प्रतिकार्यको समन्वय र सहजीकरणको जिम्मेवारी विपद् व्यवस्थापन समितिका सदस्यसचिव तथा विपद् व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपाललाई दिएको छ।
बैठकले काठमाडौं महानगरपालिका अन्तर्गत कार्यरत चिकित्सकसहितका स्वास्थ्यकर्मीलाई आवश्यकता अनुसार परिचालन गर्ने निर्णयसमेत गरेको छ।
घाइते तथा बिरामीका लागि आवश्यक औषधि उपलब्ध गराउने र महानगरको आपतकालीन सञ्चालन केन्द्रमा मौज्दात रहेका विपद् व्यवस्थापनसम्बन्धी सामग्री आवश्यकता अनुसार प्रयोग गर्ने निर्णय भएको छ।
उद्धार तथा उपचारका क्रममा औषधि वा अन्य आवश्यक सामग्री अपुग भएमा महानगरको विपद् व्यवस्थापन कोषबाट खरिद गरी तत्काल उपलब्ध गराउने पनि बैठकले निर्णय गरेको छ।
भोटेकोशीमा आएको आकस्मिक बाढीले रसुवा, नुवाकोटसहित तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएपछि विभिन्न निकायले उद्धार, राहत र उपचारका लागि आफ्ना स्रोत–साधन परिचालन गरिरहेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।