काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले नेपाल पुनर्बीमा कम्पनीलाई कुल पुनर्बीमा व्यवसायको २० प्रतिशत हिस्सा सुनिश्चित गरेको छ। प्राधिकरणले पुनर्बीमा निर्देशिकामा पाँचौं संशोधन गर्दै नेपालमा कार्यरत बीमा कम्पनीहरूलाई आफ्नो पुनर्बीमा व्यवसायको निश्चित हिस्सा नेपाल पुनर्बीमा कम्पनीमार्फत गर्नुपर्ने व्यवस्था गरेको हो।
संशोधित निर्देशिकाअनुसार नेपालमा कार्यरत बीमकले जारी गर्ने बीमाङ्कको कम्तीमा २० प्रतिशत प्रत्यक्ष हिस्सा नेपाल पुनर्बीमा कम्पनीबाट पुनर्बीमा गराउनुपर्नेछ।
प्राधिकरणले प्रत्यक्ष हिस्साअन्तर्गतको २० प्रतिशत व्यवसाय नेपाल पुनर्बीमा कम्पनीबाटै गराउन निर्देशन दिएको हो। यद्यपि, यस व्यवस्थामा हवाई बीमा, हुलदंगा तथा आतंकवाद बीमा र विविध बीमाअन्तर्गत पर्ने स्वास्थ्य, यात्रा तथा ट्रेकिङ बीमा व्यवसाय समावेश गरिएको छैन।
यसअघि बीमा कम्पनीहरूले प्रत्यक्ष हिस्सा आर्थिक वर्ष २०८३/८४ सम्म बाँडफाँट गर्नुपर्ने र त्यसपछि उक्त व्यवस्था शून्यमा झार्नुपर्ने प्रावधान थियो। प्राधिकरणले निर्देशिका संशोधनमार्फत सो व्यवस्था परिवर्तन गरेको हो।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत नेपाल पुनर्बीमा कम्पनीलाई नयाँ व्यवसाय सुनिश्चित गर्ने घोषणा गरेका थिए। बजेटमै नेपाल पुनर्बीमा कम्पनीलाई २० प्रतिशत व्यवसाय उपलब्ध गराउने व्यवस्था गरिएको थियो।
यस्तै, दीर्घकालीन प्रकृतिका बीमाको सामूहिक बीमा कोषको नेतृत्व तथा सञ्चालनको जिम्मेवारी पनि नेपाल पुनर्बीमा कम्पनीलाई दिने व्यवस्था बजेटमा गरिएको छ।
बजेटको व्यवस्थाअनुसार प्राधिकरणले वैदेशिक रोजगार म्यादी जीवन बीमा पुल सञ्चालनको जिम्मेवारी हिमालयन रिइन्स्योरेन्सबाट नेपाल पुनर्बीमा कम्पनीलाई हस्तान्तरण गरिसकेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।