काठमाण्डौ । रसुवागढी जलविद्युत् आयोजना (RHPL) को सुरुङभित्र मानिस फसेको आशंकामा गरिएको खोजीका क्रममा कोही पनि फेला नपरेपछि सैनिक नेतृत्वको उद्धार टोली फर्किएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार नेपाली सेनाको टोली इन्जिनियर र ड्रोनसहित सुरुङको भित्री भागमा प्रवेश गरेको थियो। सुरुङको अन्तिम बिन्दुसम्म पुगेर खोजी गर्दा पनि कुनै मानिस फेला नपरेको जनाइएको छ।
सुरुङभित्र केही व्यक्ति फसेको हुन सक्ने आशंकापछि उद्धार टोलीले विशेष सावधानीका साथ भित्री संरचना परीक्षण गर्दै खोजी अघि बढाएको थियो। तर अन्तिम भागसम्मको खोजीपछि त्यहाँ कोही नरहेको निष्कर्ष निकालिएको हो।
सुरुङभित्र मानिस नरहेको पुष्टि भएपछि नेपाली सेनाको टोली त्यहाँबाट रसुवाको धुन्चे फर्किएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
भोटेकोशी बाढीपछि रसुवाका विभिन्न जलविद्युत् आयोजना, सुरुङ तथा पूर्वाधार क्षेत्रमा मानिस फसेको आशंकामा सुरक्षा निकायले निरन्तर खोजी तथा उद्धार अभियान सञ्चालन गरिरहेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।