काठमाण्डौ । बाढी–पहिरोका कारण सडक अवरुद्ध भई खाद्यान्न तथा खाना पकाउने ग्यासको आपूर्तिमा दबाब पर्न थालेपछि सरकारले बजार अनुगमन कडा बनाउने भएको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबारदेखि काठमाडौं उपत्यकामा १० वटा विशेष अनुगमन टोली परिचालन गर्ने तयारी गरेको हो।
विभागका सूचना अधिकारी अनिल किराँतीका अनुसार हाल चार वटा टोलीले बजार अनुगमन गरिरहेकोमा अब मन्त्रालयबाट थप कर्मचारी परिचालन गरी करिब ४० जनालाई १० टोलीमा विभाजन गरेर खटाइनेछ।
विभागले काठमाडौं उपत्यकाका १३ वटा क्षेत्र निर्धारण गरी खाद्यान्न, दैनिक उपभोग्य वस्तु, खाना पकाउने ग्यासलगायतका अत्यावश्यक वस्तुको मूल्य, मौज्दात र बिक्री वितरणको अवस्था अनुगमन गर्ने तयारी गरेको छ।
पछिल्ला दिनमा बाढी र पहिरोका कारण मुख्य सडक अवरुद्ध हुँदा सामान ढुवानीमा समस्या देखिएको छ। यही अवस्थालाई देखाएर बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, आवश्यकताभन्दा बढी सामान भण्डारण गर्ने र मूल्य बढाउने जोखिम बढेपछि विभाग सक्रिय भएको हो।
विभागले उपभोक्तालाई पनि आवश्यकताभन्दा बढी सामान खरिद गरेर घरमा थुपार्ने प्रवृत्ति नदेखाउन आग्रह गरेको छ। उपभोक्ताले अस्वाभाविक रूपमा स्टक बढाउँदा बजारमा वास्तविक आपूर्ति रहेकै अवस्थामा समेत कृत्रिम अभाव सिर्जना हुन सक्ने विभागको भनाइ छ।
सूचना अधिकारी किराँतीले अहिले बजारमा रहेका अधिकांश वस्तु पुरानै ढुवानी लागतमा आएका भएकाले बाढी–पहिरोको बहाना बनाएर मूल्य बढाउन नपाइने स्पष्ट पारेका छन्।
‘अहिले बजारमा नयाँ ढुवानी आएको छैन र भाडा पनि बढेको छैन,’ किराँतीले भने, ‘पहिलेकै स्टकलाई नयाँ र बढी मूल्यमा बेच्नु कालोबजारी हो।’
अनुगमनका क्रममा व्यवसायीको पछिल्लो खरिद मूल्य, बिक्री मूल्य, बिलबिजक र मौज्दातसमेत जाँच गरिनेछ। पुरानै स्टकमा अस्वाभाविक मूल्यवृद्धि गरिएको, सामान लुकाइएको वा कृत्रिम अभाव सिर्जना गरेको पाइए तत्काल कारबाही गरिने विभागले जनाएको छ।
दसैँ नजिकिँदै गर्दा बजारमा माग बढ्ने र बाढी–पहिरोका कारण आपूर्ति चक्रसमेत प्रभावित भएकाले यसपटक बजार अनुगमनलाई सामान्य समयभन्दा कडा बनाउने सरकारको तयारी छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।