काठमाण्डौ । चुनौतीपूर्ण आर्थिक परिस्थिति र बैंकिङ क्षेत्रमा बढ्दो दबाबबीच वित्तीय अवस्थामा उल्लेख्य सुधार गरेको गरिमा विकास बैंकले सेयरधनीलाई आकर्षक लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट कुल २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो।
बैंकको बिहीबार दिउँसो ४ बजे बसेको सञ्चालक समितिको ३५१औँ बैठकले हाल कायम चुक्तापूँजीको १० प्रतिशत बोनस सेयर र करसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।
पछिल्लो समय सञ्चालन दक्षता सुधार गर्दै लाभांश क्षमता बलियो बनाएको गरिमाको यो प्रस्तावले सेयरधनीलाई नगद प्रतिफलसँगै स्वामित्व वृद्धिको दोहोरो लाभ दिनेछ।
हाल बैंकको चुक्तापूँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार रुपैयाँ छ। प्रस्तावित १० प्रतिशत बोनस सेयरले अन्तिम स्वीकृति पाएपछि बैंकको चुक्तापूँजी करिब ६० करोड २१ लाख रुपैयाँले बढेर ६ अर्ब ६२ करोड ३४ लाख ८३ हजार रुपैयाँ पुग्नेछ।
यद्यपि, सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश तत्काल वितरण हुने छैन। नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी बैंकको आगामी २०औँ वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै सेयरधनीले लाभांश पाउनेछन्।
काठमाण्डौको बालुवाटारमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकले देशभरका १२६ शाखा कार्यालय तथा ५१ एटीएममार्फत आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।