काठमाण्डौ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको तीव्र विस्तारसँगै विश्वभर अर्बपतिको संख्या र उनीहरूको सम्पत्ति दुवै नयाँ उचाइमा पुगेका छन्। अल्ट्राटाको हालै सार्वजनिक रिपोर्टअनुसार सन् २०२५ मा विश्वभर अर्बपतिको संख्या ३ हजार ७९५ पुगेको छ।
यो संख्या अघिल्लो वर्षको तुलनामा ८.२ प्रतिशतले बढी हो। पछिल्लो पाँच वर्षमा अर्बपतिको संख्यामा भएको यो सबैभन्दा ठूलो वार्षिक वृद्धि भएको अल्ट्राटाले जनाएको छ।
रिपोर्टअनुसार विश्वका अर्बपतिहरूको कुल सम्पत्ति पनि सन् २०२५ मा १२.८ प्रतिशतले बढेर १५.१ ट्रिलियन अमेरिकी डलर पुगेको छ। एआईमा केन्द्रित प्रविधि कम्पनीहरूको शेयर मूल्यमा आएको तीव्र वृद्धिले नयाँ सम्पत्ति सिर्जनामा महत्वपूर्ण भूमिका खेलेको रिपोर्टमा उल्लेख छ।
अल्ट्राटाले अर्बपतिको सम्पत्ति वृद्धिमा सबैभन्दा ठूलो योगदान पुर्याएका सार्वजनिक रूपमा सूचीकृत १५० कम्पनीको अध्ययन गरेको थियो। अध्ययनअनुसार पछिल्लो पाँच वर्षमा एआईमा कम्तीमा ३० मिलियन अमेरिकी डलर लगानी गरेका कम्पनीहरूको बजार पुँजीकरण सन् २०२४ देखि २०२५ सम्म एआईमा लगानी नगरेका कम्पनीको तुलनामा २३ प्रतिशत बढीले वृद्धि भएको थियो।
एआई र प्रविधि कम्पनीको उछालले अर्बपतिको सम्पत्ति बढाए पनि अत्यधिक धनी व्यक्तिहरूबीच सम्पत्तिको असमानता पनि बढेको रिपोर्टले देखाएको छ।
अल्ट्राटाका अनुसार सन् २०२५ मा ५० अर्ब अमेरिकी डलरभन्दा बढी सम्पत्ति भएका २९ जना ‘सुपर अर्बपति’ रहेका छन्। उनीहरूको संयुक्त सम्पत्ति ४.१ ट्रिलियन डलर पुगेको छ, जुन विश्वका सबै अर्बपतिको कुल सम्पत्तिको करिब २७ प्रतिशत हो।
सन् २०१७ मा भने ५० अर्ब डलरभन्दा बढी सम्पत्ति भएका यस्ता सुपर अर्बपतिको संख्या १० मात्रै थियो र उनीहरूको हिस्सा कुल अर्बपति सम्पत्तिको ७.२ प्रतिशत रहेको अल्ट्राटाको अनुमान थियो।
अल्ट्राटाकी थट लिडरसिप तथा एनालिटिक्स प्रमुख माया इम्बर्गका अनुसार एआईसँग प्रत्यक्ष जोडिएका प्रविधि कम्पनीका शेयरमा आधारित सम्पत्ति अत्यधिक उतारचढावयुक्त हुन सक्छ।
उनका अनुसार एआईसम्बन्धी बजार धारणा परिवर्तन हुँदा प्रविधिमा केन्द्रित कम्पनीका मालिक तथा विश्वका सबैभन्दा धनी अर्बपतिको सम्पत्तिमा पनि तीव्र वृद्धि वा गिरावट आउन सक्छ।
क्षेत्रगत रूपमा हेर्दा उत्तर अमेरिका अर्बपतिको संख्याका हिसाबले विश्वकै अगाडि रहेको छ। अल्ट्राटाका अनुसार सन् २०२५ मा उत्तर अमेरिकामा १ हजार ३३७ अर्बपति पुगेका छन्। अघिल्लो वर्षको तुलनामा यो संख्या ११.६ प्रतिशतले वृद्धि भएको हो।
अल्ट्राटाले उत्तर अमेरिकामा अर्बपतिको तीव्र वृद्धिको एउटा प्रमुख कारण अमेरिकी निजी तथा सार्वजनिक प्रविधि बजारमा रहेको प्रभुत्वलाई मानेको छ।
युरोपमा अर्बपतिको संख्या १ हजार ८१ पुगेको छ भने एसियामा ८८१ पुगेको रिपोर्टमा उल्लेख छ। युरोपमा अर्बपतिको संख्या ७.९ प्रतिशत र एसियामा ६.५ प्रतिशतले बढेको हो।
एआईप्रतिको लगानी उत्साहले प्रविधि क्षेत्रमा ऐतिहासिक सम्पत्ति सिर्जना गरे पनि यससँगै जोखिमसमेत बढेको विज्ञहरूको भनाइ छ। विशेषगरी अर्बपतिको सम्पत्ति एउटै क्षेत्र—प्रविधि र त्यसमा पनि एआई—मा बढी केन्द्रित हुँदा सेयर बजारको उतारचढावले उनीहरूको कागजी सम्पत्तिमा ठूलो प्रभाव पार्न सक्छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।