काठमाण्डौ । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका ६ वटा जलविद्युत् आयोजनामा भइरहेको खोज तथा उद्धार कार्यको पछिल्लो अवस्था सार्वजनिक गरेका छन्।
सोमबार दैनिक अपडेटमार्फत प्रधानमन्त्री शाहले रसुवागढी, लाङटाङ, चिलिमे, माथिल्लो त्रिशूली–१, त्रिशूली–३ ‘ए’ र त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा भइरहेको खोजीको प्रगति विवरण सार्वजनिक गरेका हुन्।
उनका अनुसार जोखिमपूर्ण सुरुङ, दलदल र लेदोले पुरिएका संरचनाभित्र सम्पर्कविहीन व्यक्तिको खोजी गर्न मिनी तथा बबक्याट एस्काभेटर, थर्मल ड्रोन, इन्फ्रारेड क्यामेरा, ड्रिलिङ मेसिन, कम्प्रेसर र विस्फोटक पदार्थसम्म प्रयोग गरिएको छ।
भदौ १० गते बिहान रसुवागढीबाट करिब २० किलोमिटर उत्तरपूर्वमा रहेको लाङटाङ हिमालको करिब पाँच हजार ६०० मिटर उचाइबाट गएको हिमपहिरोका कारण भोटेकोशीमा लेदोसहितको आकस्मिक बाढी आएको प्रधानमन्त्रीले जानकारी दिए। बाढीले सञ्चालनमा रहेका तथा निर्माणाधीन जलविद्युत् आयोजनामा ठूलो जनधनको क्षति पुर्याएको थियो।
प्रधानमन्त्री शाहले स्रोत, साधन र समयको सीमितताका बाबजुद सम्पर्कविहीन व्यक्तिको खोजी अन्तिमसम्म जारी राखिने प्रतिबद्धता जनाएका छन्।
‘हामी नेपाली मानवतावादी छौँ। त्यसैले स्रोत, साधन र समयको सीमितताभित्र पनि यो कार्यलाई अन्तिमसम्म जारी राख्नेछौँ,’ उनले भनेका छन्।
रसुवागढीमा मिनी एस्काभेटरबाट खोजी
रसुवागढी जलविद्युत् आयोजनाको हेडवर्क्सका सम्पूर्ण संरचना, भूमिगत विद्युत्गृह र विद्युत्गृह बाहिर रहेका अधिकांश सामग्रीमा क्षति पुगेको छ।
बाढी आएको दिनदेखि नै खोजीको प्रयास गरिए पनि सुरुवाती समयमा हेलिकप्टरसमेत अवतरण हुन नसक्दा आवश्यक उपकरण पुर्याउन कठिन भएको प्रधानमन्त्रीले बताएका छन्।
आयोजना क्षेत्रबाट उद्धार गरिएका एक कर्मचारीको सहयोगमा नेपाली सेनाको टोली सुरुङभित्र २७५ मिटरसम्म पुगेको थियो। तर, त्यस क्रममा कुनै व्यक्ति फेला परेनन्। अहिले हेलिकप्टरमार्फत मिनी एस्काभेटर पुर्याएर खोजीलाई निरन्तरता दिइएको छ।
लाङटाङ आयोजनामा दुई शव फेला, खोजी जारी
लाङटाङ जलविद्युत् आयोजनामा बाढी आएकै दिन खोजीका लागि प्रारम्भिक रेकी गरिएको थियो। भदौ १३ गते नेपाली सेना र भारतीय विशेषज्ञ टोली दलदल पन्छाउँदै सुरुङको प्रवेशविन्दुबाट करिब ६० मिटरभित्र पुगेको थियो। तर, त्यहाँ ठूला चट्टान भेटिएपछि खोजी चुनौतीपूर्ण बनेको थियो।
भदौ १६ गते नेपाली सेनासँगै आयोजनाका कर्मचारीलाई परिचालन गरी ग्यास वेल्डिङबाट सुरुङमा प्वाल पारेर प्रवेश गरिएको थियो। त्यस क्रममा दुई जनाको शव फेला परेको प्रधानमन्त्रीले जानकारी दिएका छन्। उक्त क्षेत्रमा अहिले पनि खोजी जारी छ।
चिलिमेमा ९० मिटरभित्र दुई शव भेटिए
चिलिमे जलविद्युत् आयोजना क्षेत्रमा नेपाली सेनाको टोली भदौ १० गते नै पुगेको थियो। दलदलका कारण तत्काल सुरुङभित्र प्रवेश गर्न नसकिएपछि भदौ १३ गते भारतीय विशेषज्ञ टोलीसहित रेकी गरिएको थियो।
भदौ १४ गतेदेखि सुरु भएको संयुक्त खोजीका क्रममा दलदल पन्छाउँदै सुरुङको प्रवेशविन्दुबाट करिब ९० मिटरभित्र पुग्दा दुई जनाको शव फेला परेको थियो।
खोजीलाई थप प्रभावकारी बनाउन बबक्याट एस्काभेटरसहित सोही क्षेत्रमा उपलब्ध अर्को एस्काभेटरसमेत प्रयोग भइरहेको छ।
माथिल्लो त्रिशूली–१ मा एक जनाको उद्धार, तीन शव फेला
माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा भदौ १० गतेदेखि नै खोजी सुरु गरिएको थियो। भदौ १३ गते चिनियाँ विशेषज्ञ टोलीले रेकी गरेपछि भदौ १४ गतेबाट नेपाली सेना र चिनियाँ टोलीले संयुक्त खोजी थालेका थिए।
सुरुङको प्रवेशविन्दुबाट दलदल पन्छाउँदै करिब २०० मिटरभित्र पुग्दा ताल भेटिएको थियो। उक्त ताल क्षेत्रमा थर्मल ड्रोन प्रयोग गरेर खोजी गरिएको प्रधानमन्त्रीले बताएका छन्।
पछि नेपाली सेना र कोरियाली विशेषज्ञ टोलीले खोजीलाई निरन्तरता दिएको थियो। प्रारम्भिक खोजीका क्रममा एक जनाको शव फेला परेको थियो। भदौ २० गते थप एक जनालाई जीवितै उद्धार गर्नुका साथै दुई जनाको शव फेला पारिएको थियो।
त्रिशूली–३ ‘ए’ मा थर्मल र इन्फ्रारेड क्यामेराबाट खोजी
नुवाकोटस्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा सुरुङको मुख पत्ता लगाउनु नै सुरुवाती चरणको मुख्य चुनौती बनेको थियो।
नेपाल विद्युत् प्राधिकरण र नागढुंगा सुरुङ आयोजनाका विशेषज्ञसहितको टोलीले भदौ १२ गते रेकी गरी भदौ १३ गतेदेखि खोजी सुरु गरेको थियो। सुरुङको मुखसम्म पुग्न छवटा एस्काभेटर प्रयोग गरिएको थियो।
करिब २५ मिटर उत्खनन गरेपछि बिजुलीको तारका लागि बनाइएको सुरुङ भेटिएको थियो। उद्धार टोली सोही साँघुरो सुरुङबाट घस्रिएर भित्र प्रवेश गरेको प्रधानमन्त्रीले जानकारी दिएका छन्।
मुख्य सुरुङ खोल्न काठमाण्डौ–तराई/मधेश द्रुतमार्ग आयोजनाबाट विस्फोटक पदार्थ तथा नागढुंगा सुरुङ आयोजनाबाट कम्प्रेसर लगिएको थियो। ड्रिलिङ मेसिनसहित यी सामग्री हेलिकप्टरबाट आयोजना क्षेत्रमा पुर्याइएको थियो।
भदौ १९ गते यस आयोजनाबाट दुई जनालाई जीवितै उद्धार गरिएको थियो भने एक जनाको शव फेला परेको थियो। त्यसपछि पनि थर्मल इमेजिङ र इन्फ्रारेड क्यामेराबाट खोजी जारी राखिएको छ।
त्रिशूली–३ ‘बी’ मा १.७ किलोमिटरभित्र गाडी भेटियो
त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा पनि भदौ १० गतेदेखि खोजीको प्रयास सुरु गरिएको थियो। भदौ १३ गते चिनियाँ विशेषज्ञ टोलीले रेकी गरे पनि दलदलका कारण आवश्यक उपकरण लैजान कठिन भएको थियो।
आयोजनाका कर्मचारी र नेपाली सेनाको टोली दलदल पन्छाउँदै अडिट सुरुङको प्रवेशविन्दुबाट १.७ किलोमिटरभित्र पुगेको थियो। त्यहाँ एउटा गाडी फेला परेको प्रधानमन्त्रीले बताएका छन्।
बाढीले आयोजनाका छवटा आवासीय भवन र एउटा कार्यालय भवन पुरेको छ। ती संरचना पत्ता लगाउन १५ मिटर गहिराइसम्म उत्खनन गरिएको छ भने थप खोज उपकरण आयोजना क्षेत्रमा पुर्याउने क्रम जारी छ।
‘जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी राखेका छैनौँ’
प्रधानमन्त्री शाहले आयोजना क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली अत्यन्त जोखिमपूर्ण अवस्थामा पनि निरन्तर परिचालित रहेको बताएका छन्। भारत, चीन र कोरियाबाट आएका विशेषज्ञ टोलीले समेत खोज तथा उद्धारमा सहयोग गरिरहेको उनले उल्लेख गरेका छन्।
‘हामीले हाम्रो जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी राखेका छैनौँ। हामीलाई हाम्रो जिम्मेवारीको संवेदनशीलता थाहा छ,’ प्रधानमन्त्री शाहले भनेका छन्, ‘खोज तथा उद्धार कार्यमा नेपालीको मानवतावादी स्वभावलाई व्यवहारमा उतारिरहेका छौँ।’


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।