काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले सबै बीमा कम्पनीलाई आर्थिक वर्ष २०८१/८२ को विवरण सात दिनभित्र पेश गर्न निर्देशन दिएको छ।
प्राधिकरणले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी निर्देशिका, २०८२ को दफा १८ को उपदफा (४) बमोजिम यसअघि पेश गरिएको विवरण तथा प्रतिवेदनमा आवश्यक स्पष्टता नदेखिएको भन्दै थप विवरण पेश गर्न निर्देशन दिएको हो।
प्राधिकरणले बीमा कम्पनीहरूलाई संस्थापक सेयरधनीको विवरण अद्यावधिक भए/नभएको स्पष्ट गर्न भनेको छ। संस्थापक सेयरधनी संस्थागत लगानीकर्ता भएको अवस्थामा उक्त संस्थामा रहेका प्राकृतिक व्यक्तिको व्यक्तिगत विवरणसमेत अद्यावधिक भए/नभएको खुलाउनुपर्नेछ।
त्यस्तै, प्राधिकरणले ALPA को दफा ३५(क), (ख) र (ग) बमोजिमका वास्तविक धनी, बीमकलाई वास्तविक रूपमा नियन्त्रण गर्ने वा आर्थिक लाभ लिने व्यक्तिको विवरण अद्यावधिक भए/नभएको जानकारी मागेको छ।
दफा ३५(ग) बमोजिम सार्वजनिक गर्नुपर्ने विवरण बीमा कम्पनीको वेबसाइटमा सार्वजनिक रूपमा उपलब्ध गराइएको छ वा छैन भन्ने विवरणसमेत पेश गर्नुपर्नेछ।
यसका साथै, ALPR को दफा ७६, ७७ र ७८ बमोजिमका विवरण अद्यावधिक भए/नभएको अवस्थासमेत प्राधिकरणलाई जानकारी गराउनुपर्नेछ।
प्राधिकरणले तोकिएको समयभित्र आवश्यक विवरण पेश गरी सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी नियामकीय व्यवस्था पालना गर्न सबै बीमा कम्पनीलाई निर्देशन दिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।