काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको समग्र आर्थिक अवस्था तथा निजी क्षेत्रले भोगिरहेका समस्याबारे उद्योगी तथा व्यवसायीहरूसँग छलफल गरिरहेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा उद्योगी तथा व्यवसायी बिनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकाल सहभागी छन्।
छलफलमा मुलुकको वर्तमान आर्थिक अवस्था, उद्योग–व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्या, लगानीको वातावरण, रोजगारी सिर्जना तथा आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उपायबारे छलफल भइरहेको छ।
सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्ने विषयलाई पनि छलफलमा प्राथमिकता दिइएको छ। साथै, स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने, व्यवसाय विस्तारका लागि अनुकूल वातावरण निर्माण गर्ने र निजी क्षेत्रको विश्वास बढाउने उपायबारे समेत छलफल हुने बताइएको छ।
आर्थिक गतिविधिमा आएको सुस्तता हटाउँदै उद्योग तथा व्यवसायको विस्तारमार्फत रोजगारी सिर्जना र आर्थिक वृद्धि हासिल गर्ने विषयमा सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेकोमा छलफल केन्द्रित हुने जनाइएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।