काठमाण्डौ । सुनजस्तो देखिने पहेँलो धातु देखाएर विभिन्न व्यक्तिबाट पटक–पटक गरी १ करोड ३९ लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–१ घर भई काठमाण्डौको नयाँ बसपार्क क्षेत्रमा बस्दै आएका २८ वर्षीय अनिष थापा मगर रहेका छन्।
थापा मगरलाई काठमाण्डौको टोखा नगरपालिका–९, मिलन टोलस्थित एक गेस्ट हाउसबाट प्रहरीले पक्राउ गरेको हो। प्रहरी प्रभाग गोंगबु नयाँ बसपार्कबाट खटिएको टोलीले उनलाई ८५६ ग्राम नक्कली सुनजस्तो देखिने पहेँलो धातुसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनले सुनजस्तो देखिने धातु देखाएर पीडितहरूलाई विश्वासमा पारी पटक–पटक गरी कुल १ करोड ३९ लाख ३० हजार रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
पक्राउ परेका थापा मगरविरुद्ध ठगीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा थापा मगर यसअघि जबरजस्ती करणीसम्बन्धी कसुरमा कैद भुक्तान गरिरहेका कैदी रहेको समेत खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनी २०८२ भदौ २४ गते नख्खु कारागारबाट भागेका थिए। कारागारबाट फरार रहेकै अवस्थामा उनले नक्कली सुन देखाएर ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।