काठमाण्डौ । सरकारले भारत, चीन र अमेरिकासहित १३ देशका लागि नेपाली राजदूत नियुक्त गर्न नाम सिफारिस गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न क्षेत्रमा विज्ञता, अध्ययन–अनुसन्धान, नेतृत्व तथा कार्यअनुभव भएका १३ जनालाई राजदूतका लागि सिफारिस गरेको हो।
सरकारको सिफारिसअनुसार डा. निश्चलनाथ पाण्डे भारत, डा. कल्याणराज शर्मा चीन र चिरनजंग थापा संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित राजदूत बनेका छन्।
त्यस्तै पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा संयुक्त अधिराज्य (यूके), जिग्यान कुमार थापा जापान, सुरेशकुमार कर्ण इजरायल र प्राप्ति शेरचन स्पेनका लागि प्रस्तावित राजदूत बनेका छन्।
शारू जोशी जर्मनी, डा. पद्माक्षी राणा ओमान, चूडामणि खरेल मलेसिया, प्रा. डा. सङ्गम श्रेष्ठ दक्षिण कोरिया, डा. मञ्चला झा श्रीलंका र गिरीबहादुर सुनार साउदी अरेबियाका लागि प्रस्तावित राजदूतमा सिफारिस भएका छन्।
अब प्रस्तावित राजदूतहरूको नाम संसदीय सुनुवाइका लागि पठाइनेछ। संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि सम्बन्धित मुलुकबाट अग्रिमो अर्थात् कूटनीतिक सहमति लिन प्रक्रिया अघि बढाइनेछ।
सम्बन्धित मुलुकबाट अग्रिमो प्राप्त भएपछि राष्ट्रपतिबाट औपचारिक रूपमा राजदूत नियुक्त गर्ने संवैधानिक तथा कूटनीतिक प्रक्रिया पूरा हुनेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।