काठमाण्डौ । कामना सेवा विकास बैंकले कुमारीपाटी–जावलाखेल क्षेत्रमा सर्वसाधारण तथा यात्रुको सुविधाका लागि पाँच वटा यात्रु प्रतीक्षा बेन्च स्थापना गरेको छ।
बैंकले कुमारीपाटी जावलाखेल व्यापार संघसँगको सहकार्यमा उक्त क्षेत्रमा पाँच वटा प्रतीक्षा बेन्च निर्माण तथा स्थापना गरेको हो। दैनिक आवतजावत गर्ने यात्रु तथा सर्वसाधारणलाई सहज रूपमा केही समय विश्राम गर्न सक्ने सुविधा उपलब्ध गराउने उद्देश्यले बेन्च स्थापना गरिएको बैंकले जनाएको छ।
बैंकका काठमाडौं प्रदेश प्रमुख केदारनाथ शर्माको अध्यक्षता तथा कुमारीपाटी जावलाखेल व्यापार संघका अध्यक्ष वीरेन्द्र शाक्यको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा उक्त प्रतीक्षा बेन्च हस्तान्तरण गरिएको हो।
कार्यक्रममा व्यापार संघका अध्यक्ष शाक्यले सर्वसाधारणको प्रयोगमा आउने प्रतीक्षा बेन्च स्थापना गरेकोमा कामना सेवा विकास बैंकलाई धन्यवाद दिए। उनले यसबाट सो क्षेत्रमा आवतजावत गर्ने यात्रु तथा स्थानीय सर्वसाधारण प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास व्यक्त गरे।
बैंकका काठमाडौं प्रदेश प्रमुख शर्माले बैंकले आफ्ना सेवाग्राहीसँगै सर्वसाधारणको सुविधा र सहजतालाई समेत प्राथमिकतामा राख्दै विभिन्न सेवामूलक तथा सामाजिक गतिविधिमा सहभागिता जनाउँदै आएको बताए। स्थानीय समुदायको आवश्यकता र सुविधालाई ध्यानमा राखेर यस्ता सामाजिक कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइने उनको भनाइ छ।
कार्यक्रममा बैंकका कर्मचारी तथा कुमारीपाटी जावलाखेल व्यापार संघका प्रतिनिधिहरूको उपस्थिति थियो। बैंकले ग्राहक सेवा विस्तारसँगै स्थानीय समुदाय र सर्वसाधारणको आवश्यकतालाई ध्यानमा राखेर विभिन्न सामाजिक गतिविधिमा सहभागिता जनाउँदै आएको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।