काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय चितवनले नारायणगढ–मुग्लिन सडकखण्डमा आज राति ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म सबै सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ।
लगातारको वर्षाका कारण बाढी, पहिरो तथा डुबानलगायत विपद्को जोखिम बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै यात्रु तथा सवारीसाधनको सुरक्षा सुनिश्चित गर्न सडकखण्डमा आवागमन रोकिएको प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको सूचनामा नेपाल मौसम विज्ञान विभागबाट आगामी केही दिनसम्म अति भारी वर्षा हुन सक्ने पूर्वानुमानसहित सूचना जारी भएको उल्लेख गरिएको छ। वर्षाका कारण बाढी, पहिरो, डुबानलगायत विपद्जन्य जोखिम उत्पन्न हुन सक्ने भएकाले सावधानीस्वरूप सडकमा आवागमन बन्द गरिएको हो।
प्रशासनका अनुसार २०८३ असोज ८ गते बेलुका ८ बजेदेखि २०८३ असोज ९ गते बिहान ५ बजेसम्म नारायणगढ–मुग्लिन सडकखण्डमा चल्ने सम्पूर्ण सवारीसाधनको आवागमन पूर्ण रूपमा रोक लगाइएको छ।
प्रशासनले सडकखण्ड प्रयोग गर्ने यात्रु तथा चालकलाई निर्धारित समयभित्र यात्रा नगर्न तथा सम्बन्धित निकायको सूचनाअनुसार वैकल्पिक व्यवस्था मिलाउन आग्रह गरेको छ।
भारी वर्षाका कारण यस सडकखण्डमा पहिरो तथा सडक अवरुद्ध हुने जोखिम उच्च रहने भएकाले यात्रुले मौसम तथा सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।