काठमाण्डौ । मौसम पूर्वानुमानअनुसार शुक्रबार देशका अधिकांश स्थानमा दिनभरजसो वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने जनाएको छ।
महाशाखाका अनुसार लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेको छ। यस्तै, मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गरिएको छ।
मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरी चल्न सक्ने सम्भावना पनि रहेको छ। भारी वर्षा र हावाहुरीका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता विपद्को जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
वर्षा र हावाहुरीका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात, उद्धार तथा राहत कार्यमा समेत असर पर्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।
मौसम महाशाखाका अनुसार शनिबारदेखि न्यून चापीय प्रणाली कमजोर हुँदै जाने भएकाले वर्षाको तीव्रता क्रमशः घट्नेछ। वर्षाको प्रणाली पश्चिमतर्फ सर्दै जाने र आइतबारदेखि वर्षा थप कम हुँदै जाने पूर्वानुमान गरिएको छ।
हाल देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। साथै, बंगालको खाडीमा विकसित भएको ‘डिप डिप्रेसन’ अर्थात् गहिरो न्यून चापीय क्षेत्र हाल भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशा आसपास रहेको महाशाखाले जनाएको छ।
उक्त प्रणाली सुरुमा गहिरो न्यून चापीय क्षेत्रकै रूपमा उत्तर–पश्चिमतर्फ सर्ने र त्यसपछि आगामी २४ घण्टामा उत्तर–उत्तरपश्चिम दिशातर्फ सर्दै क्रमशः कमजोर हुने सम्भावना रहेको छ।
हाल कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश बदली रहेको छ भने सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ।
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
महाशाखाले शुक्रबारको प्रतिकूल मौसमलाई ध्यानमा राख्दै विशेषगरी बाढी, पहिरो र भूक्षयको जोखिम भएका क्षेत्रमा सतर्क रहन तथा अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।