काठमाडौँ । लगातारको वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै देशका विभिन्न प्रमुख राजमार्गमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
प्रहरीका अनुसार पृथ्वीराजमार्गमा आज बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म सम्पूर्ण सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।
त्यस्तै, सिद्धिचरण लोकमार्गमा आजदेखि असोज १२ गतेसम्म बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म अत्यावश्यक सेवाका सवारीसाधनबाहेक अन्य सम्पूर्ण सवारीसाधन तथा पैदलयात्रीको रात्रिकालीन आवागमनमा रोक लगाइएको प्रहरीले जनाएको छ।
मकवानपुरको कान्ति राजमार्ग तथा भैँसे–भीमफेदी–देउराली–कुलेखानी हुँदै काठमाडौँ आउने सडकमा समेत बेलुका ७ बजेदेखि बिहानसम्म सवारीसाधन सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको छ।
यसैगरी, बीपी राजमार्गमा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
नारायणगढ–मुग्लिन सडकखण्डमा पनि आज बेलुका ८ बजेदेखि भोलि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
प्रहरीका अनुसार वर्षाका कारण सडकमा पहिरो, बाढी तथा गेग्रान बग्ने जोखिम बढेकाले यात्रु तथा सवारीसाधनको सुरक्षालाई ध्यानमा राखी रात्रिकालीन आवागमनमा रोक लगाइएको हो।
सम्बन्धित निकायले अत्यावश्यकबाहेक जोखिमयुक्त सडकमा रातिको समयमा यात्रा नगर्न तथा यात्रा गर्नुअघि सडक र मौसमको अवस्था बुझेर मात्र गन्तव्यतर्फ लाग्न सर्वसाधारणलाई आग्रह गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।