काठमाण्डौ । विभिन्न राजनीतिक दल छाडेका युवाहरूले वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यसहित ‘हुंकार मधेस’ अभियान घोषणा गरेका छन्।
शुक्रबार काठमाण्डौमा आयोजित कार्यक्रममा अभियानले शक्तिशाली राजनीतिक संगठनको आधार तयार गर्ने, सक्षम युवा नेतृत्व विकास गर्ने र युवालाई सक्रिय राजनीतिमा आकर्षित गर्ने लक्ष्य अघि सारेको जनाएको हो।
अभियानमा राष्ट्रिय मुक्ति पार्टी नेपालसहित विभिन्न राजनीतिक पृष्ठभूमिबाट आएका व्यक्तिहरू संलग्न छन्। यसअघि पनि विभिन्न दलमा रहेका मधेसी युवाहरूले ‘हुंकार मधेस’ नाममा अभियान अघि बढाउँदै नयाँ राजनीतिक विकल्प निर्माण गर्ने उद्देश्य सार्वजनिक गरेका थिए।
कार्यक्रममा बोल्दै राष्ट्रिय मुक्ति पार्टी नेपाल छाडेका केशव झाले राजनीति सक्षम, शिक्षित र आत्मनिर्भर व्यक्तिहरूको नेतृत्वमा जानुपर्ने धारणा राखे।
उनले पछिल्लो समय राजनीतिप्रति समाजमा नकारात्मक धारणा बढेको र सक्षम व्यक्तिहरू राजनीतिबाट टाढिँदै गएको बताए। अभियानको उद्देश्य युवापुस्तालाई राजनीतिप्रति आकर्षित गर्दै वैचारिक र संगठनात्मक रूपमा नयाँ विकल्प निर्माण गर्नु रहेको उनको भनाइ थियो।
झाका अनुसार मधेसकेन्द्रित राजनीतिक दलहरूलाई एउटै राजनीतिक संरचनामा ल्याउने प्रस्ताव अघि सारिएको भए पनि त्यसमा सहमति नजुटेपछि छुट्टै अभियान अघि बढाइएको हो।
उनले राजनीतिलाई ‘डर्टी गेम’का रूपमा बुझ्ने प्रवृत्तिलाई बदल्नुपर्ने उल्लेख गर्दै राजनीतिक नेतृत्व ज्ञान, क्षमता र सामाजिक सम्मानमा आधारित हुनुपर्ने धारणा राखे।
यसअघि राष्ट्रिय मुक्ति पार्टी नेपालका केही नेता–कार्यकर्ताले पार्टी छाड्दै ‘हुंकार मधेस अभियान’ मार्फत नयाँ राजनीतिक यात्रा अघि बढाउने घोषणा गरेका थिए। उनीहरूले पुरानो राजनीतिक शैली र नेतृत्वबाट अपेक्षित परिवर्तन सम्भव नभएको निष्कर्षसहित नयाँ वैचारिक तथा संगठनात्मक विकल्प आवश्यक रहेको बताएका थिए।
अभियानले आगामी दिनमा युवालाई राजनीतिमा संगठित गर्ने, वैचारिक छलफल विस्तार गर्ने र नयाँ राजनीतिक संगठनको आधार निर्माण गर्ने जनाएको छ।
‘हुंकार मधेस’ अभियानले तत्कालै राजनीतिक दलको स्वरूप लिने वा केही समय अभियानकै रूपमा अघि बढ्नेबारे विस्तृत संरचना भने सार्वजनिक गरिसकेको छैन।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।