काठमाण्डौ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफ्नो र परिवारको शान्ति सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाइदिन प्रहरीसमक्ष निवेदन दिएका छन् ।
जबराका छोरा सचिन्द्रशम्शेर जबरामार्फत आइतबार काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा निवेदन दिइएको हो । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी सुशीलसिंह राठौरले निवेदन आएको पुष्टि गरेका छन् ।
निवेदनमा देशको पछिल्लो अवस्था तथा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका विभिन्न विषयका कारण आफू र परिवारको सुरक्षामा चुनौती महसुस भएको उल्लेख गरिएको छ ।
जबराले विगतमा राज्यका विभिन्न निकायमा निर्वाह गरेको जिम्मेवारी र न्यायपालिकाको नेतृत्व गर्दा गरेका न्यायिक निर्णयका कारण पनि सुरक्षा जोखिम बढ्न सक्ने भन्दै निवास, परिवार र जिउज्यानको सुरक्षामा राज्यको ध्यान जानुपर्ने माग गरेका छन् ।
उनले आफ्नो व्यक्तिगत तथा सुरक्षासम्बन्धी विवरण राज्यका सुरक्षा निकायसँग पहिल्यै रहेको उल्लेख गर्दै आवश्यक सुरक्षा व्यवस्था थप गर्न आग्रह गरेका हुन् ।
यसअघि प्रहरीले जबरालाई शनिबार मध्यरातपछि महाराजगञ्जस्थित निवासबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा लगेको थियो । प्रहरीले त्यतिबेला जबरामाथि सुरक्षा खतरा रहेको सूचना प्राप्त भएपछि सुरक्षित स्थानमा लगिएको जनाएको थियो । तर खतरा कसबाट र कस्तो प्रकृतिको थियो भन्ने विवरण सार्वजनिक गरिएको छैन ।
करिब १२ घण्टापछि जबरालाई परिवारको जिम्मा लगाइएको थियो । त्यसपछि उनको निवासमै थप सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।
जबरालाई मध्यरातमा घरबाट लगिएको र पछि छाडिएको विषयलाई लिएर संसद् तथा सार्वजनिक वृत्तमा समेत प्रश्न उठिरहेका बेला उनले औपचारिक रूपमै शान्ति सुरक्षाको माग गर्दै प्रहरीमा निवेदन दिएका हुन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।