काठमाडौं। नबिल बैंक लिमिटेडका एक संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको १ लाख ३३ हजार ६०८ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएका छन्।
संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको उक्त सेयर एकमुष्ट बिक्री गर्ने इच्छा राखी बैंकमा निवेदन दिएका हुन्। उक्त निवेदन बैंकको सञ्चालक समितिको बैठकमा पेस हुँदा आवश्यक प्रक्रिया पूरा गरी सेयर बिक्री तथा खरिद प्रक्रिया अगाडि बढाउने निर्णय भएको बैंकले जनाएको छ।
नेपाल राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनको इ.प्रा. निर्देशन नं. १०/०८२ बमोजिम संस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता बैंककै विद्यमान संस्थापक सेयरधनीलाई दिनुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार बैंकले इच्छुक तथा योग्य विद्यमान संस्थापक सेयरधनीलाई सेयर खरिदका लागि आवेदन दिन आह्वान गरेको हो।
इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, तिनधारा, विनामार्ग, दरबारमार्ग, काठमाडौंस्थित कम्पनी सचिवको कार्यालयमा आवेदन दिनुपर्नेछ। आवेदन दिँदा सूचनाको प्रकाशन मिति र प्रकाशित पत्रिकाको नामसमेत उल्लेख गरी गोप्य खामबन्दी वा शिलबन्दी निवेदन पेस गर्नुपर्ने बैंकले जनाएको छ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि निवेदन नपरेमा प्रचलित कानुनी व्यवस्थाअनुसार उक्त सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले स्पष्ट पारेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।