काठमाण्डौ । प्रधानमन्त्री बालेन शाहसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बिदाइ भेट गरेका छन्।
मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री शाहले नेपालमा आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा राजदूत श्रीवास्तवलाई बधाई दिएका छन्। राजदूत श्रीवास्तव आफ्नो कार्यकाल पूरा गरी केही दिनमै भारत फर्किने तयारीमा छन्। Ratopati
भेटका क्रममा प्रधानमन्त्री शाहले नेपाल–भारत सम्बन्धलाई थप गहिरो र बहुआयामिक बनाउन राजदूत श्रीवास्तवले खेलेको भूमिकाको प्रशंसा गरेका छन्। साथै पछिल्लो बाढी तथा विपद्का समयमा भारतले नेपाललाई उपलब्ध गराएको सहयोगप्रति उनले धन्यवाद व्यक्त गरेका छन्। भारतले अगस्टको विनाशकारी बाढीपछि नेपाललाई मानवीय सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो।
बिदाइ भेटका क्रममा प्रधानमन्त्री शाहले राजदूत श्रीवास्तवलाई बुद्धको प्रतिमासमेत प्रदान गरेको सार्वजनिक विवरणमा उल्लेख छ।
राजदूत श्रीवास्तवले यसअघि परराष्ट्रमन्त्री शिशिर खनालसँग पनि बिदाइ भेट गरेका थिए। उक्त भेटमा ऊर्जा सहकार्य, व्यापार, पूर्वाधार, कनेक्टिभिटी तथा दुई देशबीचको जनस्तरीय सम्बन्धबारे छलफल भएको थियो। परराष्ट्रमन्त्री खनालले पनि बाढीपछिको खोज, उद्धार तथा राहतमा भारतले देखाएको सहयोगको प्रशंसा गरेका थिए।
श्रीवास्तवको कार्यकाल सकिन लागेसँगै नेपालस्थित विभिन्न सरकारी तथा व्यावसायिक निकायले पनि उनको बिदाइ कार्यक्रम आयोजना गरिरहेका छन्। नेपाल–भारत उद्योग वाणिज्य संघले समेत हालै उनको सम्मानमा बिदाइ कार्यक्रम आयोजना गरेको थियो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।