काठमाण्डौ । हालैको अविरल वर्षा, बाढी र पहिरोबाट क्षतिग्रस्त बनेका मुख्य राजमार्गअन्तर्गतका पुलहरूलाई दसैँअगावै मर्मत तथा पुनर्निर्माण गरी सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
सडक विभागअन्तर्गतको पुल महाशाखाले चाडपर्वका बेला सर्वसाधारणको आवागमन सहज बनाउन रणनीतिक तथा मुख्य राजमार्गका पुललाई प्राथमिकतामा राखेर काम तीव्र बनाएको जनाएको छ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरणअनुसार बाढीपहिरोका कारण देशभर करिब १० वटा पुलमा क्षति पुगेको छ। तीमध्ये स्थानीय सडक, मोटरेबल तथा अन्य पुल पनि समावेश छन्।
पुल महाशाखाका प्रमुख ललिजन खनालका अनुसार कालीगण्डकी करिडोर तथा राजमार्ग खण्डका पोखरेबगर, मालढुङ्गा र डेढगाउँका पुलहरू बाढीबाट प्रभावित भएका छन्। ती स्थानमा तत्काल मर्मत गर्ने वा बेलीब्रिज जडान गर्ने भन्नेबारे प्राविधिक अध्ययन भइरहेको छ।
उनका अनुसार प्राविधिक टोली फिल्डमै खटिएको छ र सडक पहुँच कायम हुनासाथ कामलाई तीव्रता दिइनेछ।
दसैँ नजिकिएकाले खरिद प्रक्रियामा अनावश्यक ढिलाइ नगरी काम अघि बढाइएको विभागले जनाएको छ। सडक पहुँच पुग्ने स्थानसम्म दसैँअगावै पुल पुनः सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।
यसैगरी भदौ १० गतेको बाढीबाट प्रभावित रसुवागढी सडक खण्डअन्तर्गत बेत्रावतीमा बेलीब्रिज राख्ने तयारी पनि अघि बढेको छ। त्यहाँ बेलीब्रिजको फाउन्डेसन निर्माणको काम करिब पूरा भइसकेको जनाइएको छ।
निर्माण सामग्री ढुवानीका लागि बाटो खुल्नेबित्तिकै बेत्रावतीमा बेलीब्रिज जडान गरी दसैँअगावै यातायात सञ्चालनमा ल्याउने विभागको तयारी छ।
तर बेत्रावतीभन्दा माथिल्लो रसुवागढी खण्डमा भने सडक नै ठूलो क्षतिमा परेको छ। केही स्थानमा सडक पूर्ण रूपमा बगेकाले त्यहाँ यातायात र पुल पुनःस्थापना गर्न थप समय लाग्ने सडक विभागले जनाएको छ।
मुख्य राजमार्गका पुलहरू समयमै सञ्चालनमा ल्याउन सकिए चाडपर्वका बेला यात्रु तथा मालवाहक सवारीको आवागमन सहज हुने अपेक्षा गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।