काठमाण्डौ । युवालाई व्यावहारिक सीप प्रदान गर्दै रोजगारका अवसरसँग जोड्ने उद्देश्यले सुनसरीको इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला, २०८३’ सुरु हुँदैछ। युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा हुने मेला असोज २० गतेसम्म सञ्चालन हुनेछ।
मेलाको उद्घाटन प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले गर्ने कार्यक्रम छ। युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको अध्यक्षतामा हुने उद्घाटन समारोहमा सांस्कृतिक झाँकीअन्तर्गत थारू नृत्य र नौमती बाजाको प्रस्तुति रहनेछ।
उद्घाटनपछि युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्ने उद्देश्यले ‘आजको युवा, भोलिको उद्यमी: सार्क संवाद’ शीर्षकमा विशेष प्यानल छलफल आयोजना गरिनेछ।
मेलाको मुख्य उद्देश्य युवाको सीप पहिचान गरी रोजगारदाता तथा तालिम प्रदायक संस्थासँग प्रत्यक्ष सम्पर्क स्थापित गराउनु रहेको आयोजकले जनाएको छ।
आज दिउँसो १२ बजेदेखि साँझ ५ बजेसम्म तालिमका सहभागी छनोट, प्रशिक्षार्थीको समूह विभाजन, रोजगार मिलानका लागि सीप प्रोफाइलिङ, रोजगारदाता तथा तालिम प्रदायक संस्थाको परिचय र सूचना–परामर्श सेवा सञ्चालन गरिनेछ।
भोलिदेखि असोज १९ गतेसम्म विभिन्न १० वटा विषयगत (ट्रेड) क्षेत्रमा पाँचदिने व्यावहारिक तालिम सञ्चालन हुनेछन्।
मेलाअवधिभर प्रदर्शनी स्टल, सूचना तथा परामर्श सेवा, रेफरल सुविधा, रोजगार मिलान तथा उद्यमशीलतासम्बन्धी छलफललगायतका कार्यक्रम निरन्तर सञ्चालन हुने आयोजकले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।