काठमाण्डौ । जटिल प्रसूति समस्या देखिएपछि धादिङकी २४ वर्षीया ममता तामाङको हवाई उद्धार गरी काठमाडौं ल्याइएको छ।
धादिङको गंगाजमुना गाउँपालिका–५ निवासी तामाङको प्रसूतिको क्रममा ज्यान जोखिममा पर्ने अवस्था सिर्जना भएपछि महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको राष्ट्रिय महिला सशक्तीकरण परियोजनाले सञ्चालन गरेको हवाई उद्धार कार्यक्रममार्फत उद्धार गरिएको हो।
हवाई उद्धारपछि तामाङलाई थप उपचारका लागि काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा भर्ना गरिएको छ। उनको आवश्यक उपचार भइरहेको जनाइएको छ।
दुर्गम तथा भौगोलिक रूपमा विकट क्षेत्रमा जटिल प्रसूति अवस्थामा रहेका गर्भवती तथा सुत्केरी महिलालाई समयमै विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचमा पुर्याई जीवनरक्षा गर्ने उद्देश्यले सरकारले हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ।
कार्यक्रममार्फत जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलालाई आपत्कालीन अवस्थामा हवाई माध्यमबाट सुविधासम्पन्न स्वास्थ्य संस्थासम्म पुर्याउने गरिएको छ। मन्त्रालयले सुरक्षित मातृत्व, समयमै उद्धार र जीवनरक्षालाई कार्यक्रमको प्राथमिकतामा राखेको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।