काठमाण्डौ । अस्ट्रेलियाको व्यस्त सिड्नी विमानस्थलमा विमानहरू एकअर्कासँग ठोक्किनबाट बालबाल जोगिएका अर्थात् ‘नियर मिस’ तथा रनवेसम्बन्धी घटनाको दर राष्ट्रिय औसतभन्दा करिब २० प्रतिशत बढी देखिएको छ।
अस्ट्रेलियन ट्रान्सपोर्ट सेफ्टी ब्युरो (एटीएसबी) ले सार्वजनिक गरेको अध्ययनअनुसार पछिल्लो समय सिड्नी विमानस्थलमा यस्ता घटनाको जोखिम बढेको देखिएको हो।
एटीएसबीले जुलाई र अगस्टमा मात्रै सिड्नी विमानस्थलमा भएका छ वटा घटनाको अनुसन्धान गरिरहेको छ। अनुसन्धानमा विमान ट्राफिक नियन्त्रकको जनशक्ति, कामको चाप, अतिरिक्त ड्युटी तथा थकानसम्बन्धी जोखिमलाई पनि महत्वपूर्ण विषयका रूपमा हेरिएको छ।
जुलाई २७ मा भएको घटना अनुसन्धानकर्ताले विशेष गम्भीर मानेका छन्। उक्त दिन क्वान्टासको बोइङ ७३७ र ड्यास–८ विमान एकअर्कासँग ठोक्किनबाट करिब १२० मिटरको दूरीमा मात्र जोगिएका थिए।
एटीएसबीले उक्त घटनालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार अत्यन्त गम्भीर प्रकृतिको ‘रनवे इन्सर्सन’मध्ये एकका रूपमा वर्गीकरण गरेको छ।
अगस्टमा भएको अर्को घटनामा जेटस्टारको ए–३२० विमानले ट्याक्सी गर्ने क्रममा तानिँदै गरेको कतार एयरवेजको बोइङ ७७७ सँग ठोक्किनबाट जोगिन आकस्मिक ब्रेक लगाउनुपरेको थियो। सो क्रममा जेटस्टारकी एक उडान परिचारिकाको हात भाँचिएको जनाइएको छ।
एटीएसबीले सन् २०१६ देखि २०२६ सम्म अस्ट्रेलियाका प्रमुख विमानस्थलमा भएका रनवे घटनाको तथ्यांक विश्लेषण गरेको छ। उक्त विश्लेषणमा कोभिड–१९ महामारीपछिको अवधिमा विमान आवागमनको तुलनामा सिड्नी विमानस्थलको ‘कन्फ्लिक्ट रेट’ सबैभन्दा उच्च देखिएको छ।
यद्यपि एटीएसबीले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनले घटनाको अन्तिम कारण भने निर्धारण गरेको छैन। अनुसन्धानकर्ताले विमान ट्राफिक नियन्त्रकको जनशक्ति अभाव, अतिरिक्त कामको दबाब, प्रशिक्षण तथा सुपरिवेक्षणसँगै नियमित जिम्मेवारी निर्वाह गर्नुपर्ने अवस्थालाई थप अनुसन्धानको विषय बनाएका छन्।
अस्ट्रेलियाको हवाई यातायात व्यवस्थापन गर्ने एयरसर्भिसेस अस्ट्रेलियाले भने थप एयर ट्राफिक कन्ट्रोलर नियुक्त गर्ने तथा आवश्यकताअनुसार अतिरिक्त जनशक्ति परिचालन गर्न सहज बनाउने कदम अघि बढाइरहेको जनाएको छ।
लगातार भइरहेका यस्ता घटनाले सिड्नी विमानस्थलको रनवे व्यवस्थापन, हवाई ट्राफिक नियन्त्रण प्रणाली र उडान सुरक्षाबारे नयाँ बहस सिर्जना गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।