काठमाडौं। नेपाल राष्ट्र बैंकले दुई रुपैयाँ दरका ३० करोड थान सिक्का छाप्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। मुद्रा व्यवस्थापन विभागले पूर्वयोग्य सुरक्षा मुद्रण कम्पनीबाट सिक्काको डिजाइन, छपाइ, आपूर्ति तथा ढुवानीका लागि बोलपत्र मागेको हो।
एक चरणको दुई खाम प्रणालीबाट हुने प्रक्रियामा प्राविधिक र मूल्यसम्बन्धी प्रस्ताव छुट्टाछुट्टै बुझाउनुपर्नेछ। बोलपत्रसम्बन्धी कागजात ३ नोभेम्बर २०२६ सम्म खरिद गर्न सकिनेछ भने यसको शुल्क २० हजार रुपैयाँ वा १३१ अमेरिकी डलर र ११५ युरो तोकिएको छ।
पूर्वबोलपत्र बैठक १६ अक्टोबर २०२६ मा दिउँसो १२ बजे थापाथलीस्थित मुद्रा व्यवस्थापन विभागमा हुनेछ। बोलपत्र बुझाउने अन्तिम समय ४ नोभेम्बर दिउँसो १२ बजे र खोल्ने समय सोही दिन १ बजे तोकिएको छ।
बोलपत्रदाताले कम्तीमा १ लाख ३२ हजार अमेरिकी डलर बराबरको बिड सेक्युरिटी पेश गर्नुपर्नेछ, जुन बोलपत्र खोलिएको मितिदेखि १२० दिनसम्म मान्य हुनुपर्नेछ। बोलपत्रको समग्र म्याद ३ अप्रिल २०२७ सम्म रहनेछ। कालोसूचीमा रहेका कम्पनी तथा तिनसँग सम्बन्धित व्यक्तिलाई प्रक्रियामा सहभागी हुन नदिइने राष्ट्र बैंकले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।