काठमाण्डौ ।। दसैं नजिकिएसँगै भारतबाट नेपालगञ्जस्थित जमुनाहा नाका हुँदै स्वदेश फर्किने नेपालीको भीड बढेको छ । पछिल्ला केही दिनयता बिहानदेखि साँझसम्मै सीमा नाकामा घर फर्किने यात्रुको लर्को देखिन थालेको छ ।
इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख प्रहरी निरीक्षक राजनप्रसाद भट्टराईका अनुसार पछिल्लो पाँच दिनमा ५० हजारभन्दा बढी नेपाली जमुनाहा नाका हुँदै स्वदेश फर्किएका छन् । दैनिक १० हजारभन्दा बढी नागरिक नाका हुँदै नेपाल प्रवेश गरिरहेको उनले बताए ।
भारतको नयाँ दिल्ली, मुम्बई, हिमाञ्चल प्रदेशलगायत विभिन्न सहरमा रोजगारीका लागि पुगेका नेपाली दसैं मनाउन यतिबेला घर फर्किरहेका छन् ।
सीमावर्ती क्षेत्रमा फर्किने नेपालीमाथि ठगी, लुटपाट तथा अन्य आपराधिक घटना हुन नदिन सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक भट्टराईले सीमापारबाट आउने यात्रुको सुरक्षाका लागि भारतीय पक्षसँग समेत आवश्यक समन्वय भइरहेको बताए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले भारतबाट चाडपर्व मनाउन स्वदेश फर्किने नागरिकलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुग्न सहजीकरण गर्ने उद्देश्यले जमुनाहा नाकामा यात्रु सहायता कक्ष सञ्चालन गरिएको जानकारी दिए ।
उनका अनुसार सीमावर्ती क्षेत्रमा यात्रु ठगिने, लुटिने वा अलपत्र पर्ने घटना हुन नदिन सम्भावित जोखिम पहिचान गरी विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको छ ।
यात्रु सहायता कक्षबाट भारतबाट फर्किने नेपालीलाई आवश्यक सूचना, समन्वय तथा अन्य सहयोग उपलब्ध गराइने प्रशासनले जनाएको छ ।
बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अङ्गुर जिसीले चाडपर्वका बेला हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न विशेष सुरक्षा योजना लागू गरिएको बताए । भारतबाट फर्किने नागरिकलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुग्ने वातावरण बनाउन सुरक्षा परिचालन बढाइएको उनको भनाइ छ ।
जमुनाहा नाकामा बढेको यात्रु चापलाई ध्यानमा राख्दै नेपालगञ्ज र कोहलपुर बसपार्कमा समेत मंगलबारदेखि यात्रु सहायता कक्ष सञ्चालन गरिने प्रहरीले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।