काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँ बजारबाट उठाउने भएको छ। केन्द्रीय बैंकले २८ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम उठाउन लागेको हो।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार असोज २१ गते बोलकबोलमार्फत निक्षेप संकलन गरिनेछ। यसको भुक्तानी कात्तिक १८ गते हुनेछ।
बोलकबोल अनलाइन बिडिङ सिस्टम (ओबीएसएस)मार्फत ब्याजदरका आधारमा हुनेछ। ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले मात्रै सहभागिता जनाउन पाउनेछन्।
बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि १० करोडकै दरले बढाउँदै ३० अर्ब रुपैयाँसम्म बोल गर्न सक्नेछन्। प्राप्त बोलमध्ये कम ब्याजदरलाई प्राथमिकता दिँदै ३० अर्ब रुपैयाँसम्म रकम बाँडफाँट गरिनेछ। एउटै ब्याजदरमा आह्वान रकमभन्दा बढी बोल परेमा प्रो–राटा आधारमा बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ।
आवश्यकताअनुसार राष्ट्र बैंकले प्राप्त बोलको सम्पूर्ण वा आंशिक रकम स्वीकार वा अस्वीकार गर्न सक्नेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।