काठमाडौं। भारतीय रिजर्भ बैंक (आरबीआई)ले रेपो दरमा २५ आधार अंकले वृद्धि गर्दै ५.५ प्रतिशत पुर्याएको छ।
समाचार एजेन्सी पीटीआईका अनुसार आरबीआईका गभर्नर सञ्जय मल्होत्राले मौद्रिक नीति समितिले सर्वसम्मत रूपमा रेपो दर बढाउने निर्णय गरेको जानकारी दिएका छन्।
वाणिज्य बैंकहरूले रिजर्भ बैंकबाट लिएको ऋणमा तिर्नुपर्ने ब्याजदरलाई रेपो दर भनिन्छ। रेपो दर बढ्दा बैंकहरूको ऋण लागत बढ्ने भएकाले उनीहरूले पनि कर्जाको ब्याजदर बढाउने गर्छन्। यसको प्रत्यक्ष असर बैंकबाट ऋण लिने उपभोक्तामा पर्छ र उनीहरूले बढी ब्याज तिर्नुपर्ने हुन्छ।
आरबीआईले आर्थिक वर्ष २०२७ का लागि मुद्रास्फीतिको अनुमान पनि सामान्य रूपमा बढाएको छ। यसअघि ५ प्रतिशत रहेको अनुमानलाई बढाएर ५.१ प्रतिशत पुर्याइएको छ।
यसैबीच, आरबीआईले आर्थिक वर्ष २०२७ का लागि भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदरको अनुमान ४० आधार अंकले बढाएर ७.१ प्रतिशत पुर्याएको छ। गभर्नर मल्होत्राले अर्थतन्त्रको वृद्धिदरमा सुधारको अपेक्षासँगै मुद्रास्फीतिको जोखिमलाई ध्यानमा राखेर मौद्रिक नीतिमा यस्तो निर्णय गरिएको संकेत दिएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।