काठमाण्डौ । मोबाइल फोन इम्पोर्टर्स एशोसिएसनको अध्यक्षमा दिपक कुमार मलहोत्रा पुनः चयन भएका छन्।
काठमाडौंमा बिहीबार सम्पन्न एशोसिएसनको दशौं वार्षिक साधारणसभाले मलहोत्राको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत रुपमा चयन गरेको हो।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सञ्जय अग्रवाल, सचिवमा प्रभाकर शम्शेर थापा र कोषाध्यक्षमा रक्षित कुमार भिमसारिया चयन भएका छन्।
त्यस्तै सञ्चालक सदस्यमा सुनिल अग्रवाल, पुलकित भिमसारिया, नितेश कुमार मुन्द्रा, प्रज्ञात तिमिल्सिना र अनमित्र शर्मा चयन भएका छन्।
साधारणसभाको प्रारम्भमा अध्यक्ष मलहोत्राले उपस्थित पदाधिकारी तथा सदस्यलाई स्वागत गरेका थिए। त्यसपछि उपाध्यक्ष सञ्जय अग्रवालले एशोसिएसनको वार्षिक कार्यप्रगति विवरण तथा कोषाध्यक्ष प्रभाकर शम्शेर थापाले वार्षिक आय–व्यय विवरण प्रस्तुत गरेका थिए।
सभामा सदस्यहरुले मोबाइल फोन व्यवसायमा देखिएका समसामयिक चुनौती, व्यवसायीका साझा समस्या, बजार व्यवस्थापन तथा एशोसिएसनको आगामी कार्यदिशाका विषयमा धारणा तथा सुझाव राखेका थिए।
निर्वाचनपछि अध्यक्ष मलहोत्राले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गर्न सहयोग गर्ने सदस्य तथा पदाधिकारीप्रति आभार व्यक्त गरे।
उनले मोबाइल फोन व्यवसायलाई थप व्यवस्थित, मर्यादित, पारदर्शी र उत्तरदायी बनाउँदै व्यवसायीका साझा समस्या समाधानका लागि सरकारी निकाय तथा सरोकारवालासँग प्रभावकारी समन्वय र सहकार्य गर्ने प्रतिबद्धता जनाए।
नवनिर्वाचित उपाध्यक्ष सञ्जय अग्रवालले एशोसिएसनको संस्थागत सुदृढीकरणसँगै मोबाइल फोन व्यवसाय क्षेत्रको दिगो विकास र व्यवस्थित बजार निर्माणलाई प्राथमिकता दिने बताए।
उनका अनुसार मोबाइल फोनको वितरण प्रणाली तथा बजार व्यवस्थापनमा सुधार, अवैध पैठारी अर्थात् ग्रे मार्केट नियन्त्रण, मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम(एमडीएमएस)को प्रभावकारी कार्यान्वयन, छाता संगठनहरुसँग सहकार्य, व्यवसायीको हकहित संरक्षण तथा उपभोक्ता हित प्रवर्द्धन एशोसिएसनका प्रमुख प्राथमिकता रहनेछन्।
उनले निजी क्षेत्र, सरकारी निकाय तथा अन्य सरोकारवालाबीचको समन्वयलाई थप प्रभावकारी बनाउँदै मोबाइल फोन व्यवसायलाई व्यवस्थित, पारदर्शी र प्रतिस्पर्धी बनाउन एशोसिएसनले सक्रिय भूमिका निर्वाह गर्ने बताए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।