काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज शुक्रबार मतदान हुँदैछ। बिहीबारका लागि तय भएको मतदान आवश्यक तयारी नपुगेपछि आजका लागि सारिएको हो।
निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार मतदान बिहान ७ बजेदेखि सुरु हुनेछ। साँझबाट मतदान सुरु गर्दा रातिको समयमा मतदातालाई कठिन हुने भएकाले शुक्रबार बिहानदेखि मतदान गर्ने निर्णय गरिएको समितिले जनाएको छ।
महाधिवेशनमा ७ हजार ३१७ प्रतिनिधि मतदाता छन्। प्रत्येक प्रतिनिधिले २३ वटा मतपत्रमा मतदान गर्नुपर्नेछ। एकजनालाई मतदान गर्न करिब ३० मिनेट लाग्ने अनुमान गरिएको छ। मतदान दिउँसो ३ बजेसम्म सक्ने निर्वाचन समितिको तयारी छ।
मतदानका लागि प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह र खुलामञ्चमा मतदान केन्द्र बनाइएको छ। राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन्। खुलामञ्चमा कोशी, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट आएका प्रतिनिधिका लागि अलग–अलग व्यवस्था गरिएको छ।
मतदानअघि प्रतिनिधिको परिचयपत्र र मतदाता नामावली रुजु गरिनेछ। मतदान सकिएपछि मतपेटिका संकलन गरी ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा लगेर मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।